विद्यालयमा पनि विद्युतीय हाजिरी
स्याङजा — फेदीखोला गाउँपालिकाले जिल्लामा पहिलोपटक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गरेको छ । गाउँपालिकाअन्तर्गत शिक्षा समिति गठन गरी सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न लागेको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए ।
‘स्थानीय तह सञ्चालन ऐनका आधारमा शैक्षिक प्रशासनलाई सुदृढीकरण गर्न मंगलबारबाट यस्तो प्रविधि अनिवार्य गर्नेे निर्णय गरेका हौं,’ उनले भने । पहिलो दिन नै यसको सुरुवात फेदीखोला–१ को सिद्धार्थ माविबाट गरिएको छ ।
शिक्षकहरूले विद्युतीय माध्यमबाट हाजिर गरी सुरुवात गरेका हुन् । गाउँपालिकाभित्रका सबै मावि र
दुइटा आधारभूत तहका विद्यालयमा यस्तो अभ्यासको थालनी गरेको अध्यक्ष सुवेदीले बताए ।
विद्यालय निरीक्षकले ल्याएको तथ्यांकअनुसार शिक्षकको लापरबाही भएको विद्यालयमा दिनको तीनपटक र अन्य विद्यालयको हकमा दुईपटक विद्युतीय हाजिरी गर्नुपर्नेछ । सबै विद्यालयमा एकरूपता ल्याउने योजनाका साथ काम गरिएको अध्यक्ष सुवेदीको भनाइ छ । ‘एउटा शिक्षकले दिनमा तीनपटक हाजिर लगाउनुपर्छ,’ उनले भने, ‘बिहान १० बजे, दिउँसो १ र बेलुका ४ बजे । सामान्य विद्यालयमा भने बिहान र बेलुका मात्र लगाउनुपर्छ । यसको लेखाजोखा सबै विद्यालय आ–आफूले राख्नेछन् र मासिक रूपमा गाउँपालिका कार्यालयमा ल्याएर बुझाउने छन् ।’
प्रकाशित : पुस १९, २०७४ ०७:२२
-प्रतीक्षा काफ्ले, Kantipur