सुली मिसाएपछि आँधीखोलाको पानी सफा गर्न चुना

0
2629

स्याङजा- आँधीखोलाको पानी सफा गर्नका लागि चुना हालिएको छ। भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फर्मले आँधीखोलामा सुली फालेपछि दुर्गन्धित पानीलाई सफा बनाउन गल्याङ नगरपालिकाले चुना हालेको हो।

दुषित पानीलाई सफा गर्न, दुर्गन्ध कम गर्न र हानिकारक किटाणुहरु फैलन नदिन चुना हालेको गल्याङ नगरपालिकाले जनाएको छ। चुनाको पैसा अरोपित संस्था खिलुङ कालिका एग्रो फर्मले बेहोर्ने छ। ‘जस्ले गल्ती गर्‍यो उसले व्यहोर्छ,’ गल्याङ नगरपालिका प्रशासकीय प्रमुख ईश्वरी पाण्डेले भने। गल्ती गर्नेलाई कानुन अनुसार कार्वाही गरेरै छाड्ने उनले प्रतिबद्घता गरे। क्षतिको विषयमा चिसापानी मत्स्य विकास केन्द्र र नगरपालिकाद्वारा मुल्याङ्कन कार्य भैरहेको जानकारी दिए।

आँधीखोलाको दुषित पानीलाई सफा गर्न, दुर्गन्ध कम गर्न र किटाणुहरु फैलन नदिन चुना हालेको आँधीखोला जलविद्युत आयोजनाले जनाए। ‘सावधानीका लागि चुना हालेका हौं,’ आँधीखोला जलविद्युत आयोजना वितरक प्रमुख शोभाखर पन्तले भने, ‘दुर्गन्ध व्यवस्थापन अझै केही दिन लाग्छ ।’ दुषित पानीका कारण ड्याम साइडमा काम गर्न समस्या परेको उनले बताए।

शनिबार बिहान आँधीखोला किनारामा मरेका माछा भेटिएपछि स्थानीय प्रशासनले अनुसन्धान प्रक्रिया थालेको थियो। सुली फालेको आरोपमा खिलुङ कालिका एग्रो फर्मका कार्यकारी प्रमुख शोभाकान्त ढकाल, स्काभेटर चालक कृष्ण परियार, डिल्लीराम अधिकारी र सन्तोष अर्याललाई जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको छ।

विषादी सुलीबाट जलचर मरेका छन्। केही महिना अघि आँधीखोला जलविद्युत आयोजनाले आँधीखोलामा १ लाख ५० हजार भुरा हालेको थियो । सुलीबाट करिब दुई लाख माछाका भुरा, एक लाख माछा, कछुवा, पानीहाँस, बकुल्ला, आँधीखोलाको माछा र पानी खाएका चरा समेत मारेको प्रारम्भिक अनुसन्धानले बताएको छ।

जलचरको के कति क्षति भएको छ भनी जिल्ला प्रशासन कार्यालय स्याङजाले गल्याङ नगरपालिका र चिसापानी मत्स्य बिकास केन्द्रलाई मुल्याङ्कन गर्न चिठी पठाइसकेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

आँधीखोला जलविद्युत आयोजनाको ड्याम साइडमा अझै पनि मरेका माछा प्रशस्तै भेटिन्छन् । पानीको गन्ध सिनोको गन्ध जस्तै छ । घट्नाको विषय र खिलुङ कालिका एग्रो फर्मलाई कार्वाहीको विषयमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी मौन छन्।  यस्ता प्रकृतिका घटना हेर्ने अधिकार स्थानीय तहमा पनि हुने भन्दै प्रमुख जिल्ला अधिकारीले गल्याङ नगरपालिकालाई छलफल र कारवाहीको जिम्मा दिएका थिए। सुलीका कारण गल्याङ नगरपालिका–३, ७ र ११ का सिंगै वडा प्रभावित बनेका छन्। स्थानीय जनताले दोषीलाई कार्वाही गर्न लिखित र मौखिक दबाब दिए पनि नगरप्रमुखकै कारण दोषी उम्कन सक्ने भन्दै चिन्ता व्यक्त गर्छन ।

मोहन गुरुङ, NagarikNews