वैशाख ८, २०७५ जिल्ला अस्पतालको बेड नं १५ मा उपचारत पुतलीबजार नगरपालिकाका निवासी झलक नारायण अर्याल ६ दिन देखि उपचार गरिरहेका छन । अर्याल आमाको दुखमा छन् । उनी दुखमा भएका कारण घरबाटै परिवारले ल्याएको खाना खाने गर्छन । तर उनको डाईट चार्टमा पुरै खाना खाएको भरिएको छ । उनी भन्छन, ‘मैले अस्पतालमा पाउने कुनै खाना खाएको छैन ।’ अस्पतालले बिरामीलाई खाना खुवाउछ भन्ने समेत जानकारी नपाएको बताउने उनले आफूले खाना खाएको छु भनेर नर्स वा डाक्टर कसले हस्ताक्षर गरे भन्ने विषयमा समेत नबुझेको बताउँछन्।
उनी जस्ता जिल्ला अस्पताल आउने कयौं बिरामीहरु अस्पतालमा नि: शुल्क खाना खान पाइन्छ भन्ने नै बुझेका छैनन् । अस्पताल आसपासमा रहेका होटलमा महङगो रकम तिरेर खाना नास्ता गर्न बाध्य छन यहाँ आउने बिरामीहरु । घर नजिक हुने कतिपयका बिरामीहरुलाई आफन्तले घरबाट नै खाना ल्याउने गर्छन । तर उनीहरुको डाईट चार्टमा पुरै खाना खाएको प्रमाण देखिन्छ । बिरामीको खानामा यस्तो लापरबाही र खानामै अनियमितता गरी ठूलो रकम घोटला गर्दा समेत अस्पतालको प्रशासन अन्यौलमा रहेको बताउँछन् । अस्पतालमा कार्यरत कर्मचारी समेत यस विषयमा आफूहरु अन्यौलमा रहेको बताउँछन् ।
जिल्ला अस्पतालमा बिरामीलाई खाना खुवाउने व्यवस्था अनुरुप ०७४ फागुन २७ गते सूचना प्रकाशित भएको थियो । सोही सूचना र मापडण्ड अनुसार भर्ना भएका बिरामीलाई खाना खुवाउने ठेक्का कञ्चन निर्माण सेवाका ठेकेदार रामप्रसाद लम्सालले पाएका थिए । २०७४ चैत्र १५ गते जिल्ला अस्पताल र श्री कञ्चन निर्माण सेवाबीच सम्झौता भयो । सम्झौता अनुसार पत्रको दोस्रो बुँदामा स्पष्ट लेखिएको छ, कि “सम्झौता पछि द्धतिय पक्षले अस्पत्तालमा भर्ना हुने बिरामीहरुको लागि डा. वा नर्सिङ कर्मचारीहरु मध्येबाट भरिएको डाईट चार्ट बमोजिम स्तर युत्त खाना बिहान र बेलुका ठिक तोकीएको समयमा खुवाउनुपर्नेछ, र सो को बिल महिना भुक्तान हुँदा १३ प्रतिशत भ्याट बिल सहित पेश गरेपछि प्रथम पक्षले जिल्ला अस्पताको ठेक्का कम्पनीका ठेकेदार रामप्रसाद लम्साललाई भुक्तानी दिनेछ ।” यसरी गरिएको सम्झौता अनुसार बिरामीहरुले दुवै छाक नभइ एक छाक समेत अस्पतालको खाना खान पाएका छैनन ।
बिरामीको खानामा नै अनियमितता भएको यहाँका अगुवाहरु नाम नबताउने सर्तमा स्वंम स्वीकार गर्छन । अस्पतालमा बिरामी कति आए भन्ने आधारमा नै डाईट चार्ट भरिन्छ । यही डाईट चार्ट नै ठेकेदारलाई भुक्तानी लिने आधार हो भन्ने सम्झौताको २ नं बुँदामा स्पष्ट लेखिएको छ । यो ठेक्का कम्पनीले जिल्ला अस्पत्तालसंग पैसा भुत्तानी लिने आधार नै डाईट चार्ट हो । तर, खादै नखाएका बिरामीलाई खाएको भनि भरिन्छ । जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, पुतलीबजार नगरपालिकाको रोहोबरमा चैत्र १२ गते सबैभन्दा कम दरभाउ पत्र अकंमा लेखेर पाएको ठेक्काले बिरामीहरु पैसाको स्रोत बन्ने गरेका छन् ।
बिरामीलाई खाना खुवाउन खुलाईने टेण्डर जतिसक्दो सस्तोमा खुवाउने ठेकेदारको प्रतिबद्धता कागजमा मात्र सिमित हुने नागरिक अगुवा अनन्त श्रेष्ठ बताउँछन्। उनी भन्छन, ‘बिरामी प्रति नै खेलवाड गर्ने ठेकेदारहरु अन्य क्षेत्रमा कतिको जिम्मेवारी पुरा गर्न सक्छन भन्ने प्रस्ट उदाहरण हो यो ।’ ठगी गरी बिरामीलाई आम्दानीको स्रोत बनाउने यस्ता ठेकेदारहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बिरामीहरुका आफन्तको माग छ । तर, यस विषयमा जिल्ला अस्पतात स्वंम मौन छ । जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिका कार्यालय पनि यसप्रति मौन देखिन्छ ।
जिल्ला अस्पताल समितिका अध्यक्ष दीर्घनारायण शर्मा भन्छन, ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन । छिट्टै खोजी गरी कारबाहीको दायरामा ल्याउनेछौ।’ उनले कार्यालय प्रमुख विदामा भएकाले केही दिनमा बैठक बसी यर्थाथबारे खोजी गर्ने बताए । ठेकेदार र कर्मचारीले फारम भर्ने हुदाँ आफूहरुमा यस विषयको कुनै जानकारी नभएको बताउदै उनले विल भुत्तानीको लागि नगरपालिका नपुगिसकेकाले थप अनुसन्धान गर्ने बताए ।
अस्पताल भित्रभित्रै हुने यस्तो खेल न प्रमुखलाई थाहा छ न त बिरामीहरुलाई नै । यस्तो लापरबाही, प्रत्यक्ष भ्रष्टचार गर्ने प्रवृतिले बिरामी भर्ना मात्र भए ठेकेदारको खातामा पैसा आउने भएपछि खानाको स्तर के होला ? भन्ने विषयमा सरोकारवालाहरु अनुसन्धानमा लाग्ने बताउँछन् । जिम्मा लिएको कम्पनीका ठेकेदार रामप्रसाद लम्सालले फर्म फर्ने काम आफूले नगर्ने र अस्पतालकै कर्मचारीले गर्ने गरेको बताए । उनी यस विषयमा खुल्न चाहेनन् ।
– प्रतीक्षा काफ्ले, स्याङजा , Kantipur