चार हजारलाई रोजगारी दिने आँधीखोला गाउँपालिकाको योजना

1
5125

स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाले पाँच वर्षमा दुई हजार आठ सय उद्यमीसहित चार हजार दुई सय जनालाई रोजगार दिने गरी लघुउद्यम विकास रणनीति योजना तयार पारेको छ।

आँधीखोला गाउँपालिकाको भेलाले लघुउद्यम विकास रणनीतिक योजना सार्वजनिक गरेको हो। गाउँपालिकाले अगामी पाँच वर्षका लागि रणनीतिक योजनासमेत तय गरेको छ। गाउँपालिकाका स्थानीयलाई लघुउद्यमबाट आत्मनिर्भर र समृद्ध आँधीखोला बनाउन पञ्चवर्षीय योजना सार्वजनिक गरेको अध्यक्ष सुधीर पौडेलले जानकारी दिए।

पाँच वर्षको अवधिमा दुई हजार सात सय ७१ उद्यमी र चार हजार एक सय ५७ जनालाई रोजगारी दिने गरी योजना तयार पारिएको छ। रोजगारका लागि बिदेसिने युवालाई आफ्नै गाउँमा रोजगार सिर्जना गर्ने योजना तयार पारिएको पौडेलले बताए।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाका प्रमुख विश्वभद्र खनालले स्थानीय स्रोत-साधनको उच्चतम परिचालन हुने खालका योजना तयार गरिएकाले यसले स्थानीय स्तरमा रोजगारी सिर्जना हुने बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले स्थानीय स्रोत–साधनको प्रयोग गरी आगामी पाँच वर्षभित्रमा बैदेसिक रोजगारमा जानेको संख्यामा कमी आउने बताइन्। गाउँका बहुमूल्य वस्तु चिन्न नसक्दा खाडी मुलुकमा पसिना बगाउन बाध्य युवालाई यस्ता कार्यक्रमले गाउँघरमै रोजगार दिनसक्ने अध्यक्ष पौडेलको भनाइ छ।

1 COMMENT