प्राविधिक खोज्दै सिंहदरबार,स्याङ्जामा भूकम्पले क्षति बनाएका संरचना अझै उस्तै

0
2989

स्याङजा– भूकम्प प्रभावित घर निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंसिर मसान्तसम्म पुगिसक्नु पर्ने गरी प्राविधिक खटाएको थियो। तर, यस जिल्लामा भने अहिलेसम्म आइपुगेका छैनन्।

प्राधिकरणले इन्जिनियर र सबइन्जिनियर गरी जिल्लाका सबै स्थानीय तहमा ५ जनाको दरले खटाएको थियो। स्थानीय तहमा हालसम्म प्राविधिक नगएपछि प्राविधिक खोज्दै जिल्लाकै सानो स्थानीय तह फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी सिंहदरबार पुगेका छन्। उनी आइतबार र सोमबार सिंहदरबार पुगी हालसम्म प्राविधिक नपुग्नुको कारणबारे खोजी गरेका थिए।

सुवेदीले सकिन्छ पठाउनुस्, नसके स्थानीय तहले नै प्राविधिक नियुक्ति गर्ने प्राधिकरणका पदाधिकारीसँग भनेको बताए। जवाफमा छिटै प्राविधिक पठाउने आश्वासन पाएपछि उनी फर्किएका हुन्। प्राविधिक अभावमा भूकम्पपीडितले पहिलो किस्ताको रकम लगे पनि घर निर्माण गर्न सकेका छैनन्। पीडितको अवस्थालाई ध्यानमा दिएर सुवेदी कर्मचारी खोज्दै सिंहदरबार पुगेका हुन्। ‘आज आउलान् भन्यो भोलि आउलान् भन्यो। दुई–चार दिन ढिला हुनु स्वाभाविकै हो। आइहाल्छन् नि भन्यो आउने कहिल्यै होइन’ उनले भने, ‘खटिएको चार महिना भइसक्यो। आजसम्म कोही पनि नआउँदा आउने हुन् कि
होइनन् भन्ने दुविधा बढ्यो। पीडितहरूको काम यत्तिकै छ। आउने नआउनेबारे निधो गर्नका लािग सिंहदरबार गएको हुँ।’
प्रत्येक स्थानीय तहमा ५ प्राविधिक खटाउने भनिए पनि प्राधिकरणले खटाएका भनिएका एउटै प्राविधिक गाउँपालिकामा आएका छैनन्। बजार केन्द्रित स्थानीय तहमा समेत पुग्न नसकेका प्राविधिक ग्रामीण भेगकातहमा पुग्न झन् एक वर्ष लाग्ने सुवेदी बताउँछन्।‘राजमार्गसँग जोडिएको गाउँपालिकामा प्राविधिक आउने भन्दाभन्दै चार महिना बित्यो। प्राविधिकलाई असहज भयो रे’, उनले भने, ‘खटाएको ठाउँ
नजाने प्राविधिक र कर्मचारीलाई कारबाही गर्नुपर्छ।’
नगरपालिकामा केही प्राविधिक पुगे पनि दरबन्दी अनुसारका सबै आएका छैनन्। जिल्लाकै दुर्गम हरिनाश गाउँपालिकामा एउटै प्राविधिक पुगेका छैनन्। गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले एक दिनअगाडि मात्र सबओभरसियर आएको बताए। ‘सबओभरसियर आज भेट्न जाँदैछु’ उनले भने, ‘प्राधिकरणमा बारम्बार बुझेका छौं। पहिलेका आउन मानेनन्। पछिल्लो तहका प्राविधिक खटिँदैछन् भन्ने जवाफ मात्र आउँछ।जिल्ला प्राधिकरणले केन्द्रीय कार्यालयमा पत्राचार गरिएको बताउँछ तर कारण खुलाउँदैन्।’ पीडितले आफूखुसी घर बनाउन पनि नपाउने र सरकारले खटाएका प्राविधिक नजाँदा समस्या भएको उनले बताए।
भूकम्प पुनर्निर्माण प्राधिकरण शाखा स्याङ्जाका प्रमुख प्रवीण ढकालले जिल्लाका एघारवटै स्थानीय तहमा प्राविधिक पुर्‍याउन समस्या परेको बताए। प्रत्येक तहमा पाँचजनाका दरले प्राविधिक खटाउनुपर्ने भए पनि दरबन्दी पूरा गर्न नसकिएको उनले स्वीकारे। ढकालले भने, ‘केन्द्रीय कार्यालयबाट प्राविधिक आएका छैनन्। बारम्बार पत्राचार, फोन गरेका छौं तर जवाफ हुन्छ–हुन्छ भन्ने मात्र आउने हो।’
ढकालका अनुसार फेदीखोला र हरिनाश गाउँपालिकामा एक–एकजना मात्र प्राविधिक सहायक पुगेका छन्। एउटा तहमा एउटा इन्जिनियर, एउटा सबइन्जिनियरअनिवार्य हुनुपर्छ।
Source:-Kantipur