चौडा बन्दै सिदार्थ राजमार्गको वालिङ सडकखण्ड

0
2575

स्याङजा, फागुन २ – वालिङ नगरपालिका क्षेत्र भित्र पर्ने सिद्धार्थ राजमार्ग सडक खण्डलाई चौडा बनाउन लागिएको छ । चौडा बनाउन थालेपछि यो सडक खण्डले चर्चा बटुलिरहेको छ ।

जिल्ला भित्र पर्ने झण्डै ९० किलोमिटर सडक अत्यन्तै साँघुरो भएकाले पछिल्लो समय दुर्घटनाको दर समेत बढेको थियो । नगरलाई व्यवस्थित बनाउन वालिङ नगरपालिकाले सडक चौडा पार्ने काम गरिरहेको छ । यो सडक निर्माणका लागि सडक डिभिजन कार्यालय पोखराले सहयोग गरिरहेको छ ।

राजमार्ग आसपासका घर, टहरा हटाउने भन्ने हल्ला चलेको धेरै बर्ष भयो तर सम्बन्धित निकाय यस विषयमा मौन रहँदै आएको छ । राजमार्ग आसपास बसोबास गर्ने मानिस दोधारमा परेका छन् ।

सरकारले राजमार्ग मापदण्ड अनुसार कायम गर्छ वा गर्दैन भन्नेमा स्थानीय दोधारमा छन् । सरकारले मुआव्जा दिएर छिटै सडक ७५ फुट कायम गरिदिए हुन्थ्यो भन्नेमा स्थानीयबासी पुगिसकेका छन् ।

सदरमुकाम पुतलीबजार, वालिङ, भिरकोट र गल्याङ नगरपालिका साथै फेदीखोला गाउपालिकाले समेत छोएको यस राजमार्गमा वालिङ नगरपालिकाले ८ मिटर चौडाई कायम गर्न थालेको हो ।

वालिङले पहिलो चरणमा खाली भएको राजमार्गको किनारालाई फाराकिलो पार्ने र दोस्रो चरणमा घर, टहरा हटाउने भन्दै काम सुरु गरेको छ । नगरपालिकाले राजमार्गले छोएका वडाहरुको अध्यक्षहरुलाई सडक चौडा पार्ने जिम्मेवारी सुम्पिएको छ जसको लागि वडा नम्वर १ का अध्यक्ष केदार काफ्लेको संयोजकत्वमा समिति बनाइएको छ । वडा अध्यक्षहरु कमल प्रसाद सुवेदी, अनन्तराज गैह्रे, आनन्द पाठक तथा श्यामकृष्ण श्रेष्ठले सडक चौडा बनाउने कामको निरन्तर अवलोकन तथा निरीक्षण गरिरहेका छन् ।

साँघुरो र धेरै घुम्ती मात्र रहेको यो सडकमा वालिङ नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सडकलाई फराकिलो गर्न लागेको हो । राजमार्गको जग्गा अतिक्रमण बढेसँगै नगरले सार्वजनिक सडक ऐन अनुसार राजमार्गको जग्गा कायम गर्न लागेको नगर प्रमुख दिलीपप्रताप खाँडले जानकारी दिनुभयो ।

तत्कालको लागि ८ मिटर मात्र कायम गरे पनि वालिङले निकट भविष्यमा नै २५ मिटर कायम गर्ने प्रकृयामा अगाडि बढाएको कार्यालयले जनाएको छ । वालिङले अहिलेलाई छाङछाङदीदेखि बायाटारीसम्मको राजमार्गको सडकमा सीमा कायम गर्ने कार्य सुरु गरेको हो । स्मार्ट सिटी बनाउने नगरपालिका वोर्डको निर्णय अनुसार नै सडक फराकिलो पारिएको नगरप्रमुख खाँडले बताउनु भयो ।

जिल्लाकै प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको वालिङ बजार सडक छेउमा बनेका घरहरुलाई हटाउन भने कठिन देखिन्छ ।

-राधाकृष्ण डुम्रे/उज्यालो ।