स्याङ्जा–२ मा गोपालमान श्रेष्ठ र एमालेकी नेतृ पद्मा अर्याल बिच कडा टक्कर,हेर्नुस् ब्रिस्त्रित विवरण।

0
1968

स्याङ्जा, मंसिर १७ – स्याङ्जाको क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र एमालेकी नेतृ पद्मा अर्याल बिच कडा टक्कर हुने देखिएको छ ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्री समेत रहेका श्रेष्ठ पाँचौ पटक प्रत्यक्षमा चुनाव लड्न लाग्नु भएको हो, भने एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अर्याल पहिलो पटक प्रत्यक्षमा चुनाव लड्न लाग्नु भएको हो ।

यसअघि २०७० सालको चुनावमा समानुपातिक तर्फबाट सभासद बन्नु भएका श्रेष्ठले २०६४ सालको पहिलो संविधानसभाको चुनावमा तत्कालीन २ नम्बर क्षेत्रबाट विजयी हुनुभएको थियो । त्यो भन्दा अघि २०४८ को संसदीय चुनावमा विजयी हुनु भएका श्रेष्ठ २०५१ को मध्यावधी चुनावमा भने एमालेसँग पराजित हुनु भएको थियो ।

त्यस्तै उहाँको प्रतिस्पर्धीको रुपमा वाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व सभासद पद्मा अर्याल २०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सभासद बन्नु भएको थियो ।

दुवै दलका उम्मेदवारहरु प्रचार प्रसारको अन्तिम कसरतमा रहेका छन् । उहाँहरु आन्तरिक र बाह्य रणनीति बनाउनमा समेत व्यस्त देखिन्छन् । स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको मतको तुलना गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन केही मतले अगाडि देखिएको भए पनि त्यसले प्रभाव नपार्ने कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठको बुझाई छ, तर वाम गठवन्धन भने त्यही मतलाई संरक्षण गर्न लागि परेको देखिन्छ ।

यस क्षेत्रमा थपिएका दश हजार मतदाता निर्णायक रहेका छन् । उनीहरु पहिलोपटक मतदान गर्न लागेकाले दुवैबिच कडा टक्कर हुने स्पष्ट देखिन्छ । स्याङ्जाको क्षेत्र नं २ र ३ पहिले देखि नै लोकतन्त्रवादी मतदाता बढी भएको विश्वास गरिन्छ, तर २०७० को दोस्रो संविधानसभा चुनावमा एमालेका मुक्तिप्रसाद पाठक विजयी भएपछि मतदाताहरु कहिले कता त कहिले कता ढल्किएको पाइयो किनकी यही क्षेत्रमा २०६४ को पहिलो संविधान सभाको चुनावमा नेपाली कांग्रेसका मोहनप्रसाद पाण्डे विजयी हुनु भएको थियो ।

यस क्षेत्रमा रहेका केही ठाँउलाई आ-आफ्ना आधार क्षेत्रका रुपमा दुवै पार्टीले लिने गरेको पाईन्छ । वाम गठवन्धनका मतदाता स्थानीय तहको चुनावको आधारमा धेरै भए पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठको जनमानसमा राम्रो प्रभाव रहेकाले आफ्नो जित निश्चत हुनेमा एमाले पनि ढुक्क छैन । तर कांग्रेस भित्र टिकट बाँड्ने बेलामा देखिएको मनमुटावले आफूलाई फाइदा हुने एमालेको विश्वास रहेको छ । श्रेष्ठ केन्द्रीय तहका नेता भएकाले वाम गठवन्धनलाई जितसम्म पुग्न त्यति सहज नुहुने विश्लेषक बताउँछन् ।

यहि क्षेत्रको प्रदेशसभा १ मा कांग्रेसले विष्णुप्रसाद पौडेल र एमालेले मोहन रेग्मीलाई चुनावी मैदानमा उतारेको छ । प्रदेशसभा २ मा कांग्रेसका भागवतप्रकाश मल्ललाई चुनौती दिन वाम गठबन्धनबाट माओवादीका सुरज गैरे मैदानमा हुनुहुन्छ ।

प्रदेशसभाका लागि यस क्षेत्रबाट उम्मेदवारी दिनेहरुमा नेपाली कांग्रेसका पौडेल र मल्ल दुवै युवा भएकाले थपिएका मतदाता आफूहरु तर्फ तानिने कांग्रेसको विश्वास रहेको छ । त्यसो त माओवादी केन्द्रले पनि वाम गठबन्धनका तर्फबाट यही क्षेत्रको ख मा युवा उमेदवार गैह्रेलाई उठाएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं. २ मा १ लाख १ हजार ३ सय ४९ मतदाता छन्, भने त्यही क्षेत्रको प्रदेश १ मा ४७ हजार २ सय ४ र प्रदेश २ मा ५४ हजार १ सय ४५ मतदाता रहेका छन् ।-राधाकृष्ण डुम्रे/उज्यालो ।