मंसिर १६, २०७४- गत वर्षहरुको तुलनामा यस वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार हाल सम्म भित्रिएको धान गत वर्ष भन्दा ५ प्रतिशतले वृद्धि भएको हो । यो वर्ष निरन्तर भइरहेको वर्षाका कारण जिल्ला भरीमा ९९ प्रतिशत धान रोपाई सम्पन्न भएकाले बढी उत्पादन भएको कार्यालयको भनाई छ । गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय २४ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो । १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाएको वर्षे धानको उत्पादन गत वर्ष ६४ हजार ४ सय ९८ मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ६७ हजार ७ सय २२ मेट्रिक टन उत्पादन भएको छ ।
कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले नियमित वर्षा भएसंगै धान रोपाईमा उत्साह छाएको कारण किसानहरु यति बेला सोचे जस्तै धान उत्पादन भएको बताउनुभयो । कार्यालयका अनुसार यहाँको आँधीखोला, कालीगण्डकी, ज्याग्दीखोला किनार, गल्याङ, चापाकोट, वालिङ, पुतलीबजार र भीरकोट नगरपालिका, आँधीखोला, बिरुवा, हरिनाश, कालीगण्डकी, अर्जुनचौपारी गाउँपालिका लगायतका स्थानहरु धान उत्पादन हुने पकड क्षेत्र मानिन्छ । जेठ महिना देखि रोप्न थालिएको धान खेती साउनको महिना सम्म रोपिएको थियो भने कतिपय भेगहरुमा ढिलो धान पाक्ने हुदाँ किसानहरु धान काट्न मै व्यस्त छन् । जिल्लामा अझै १२ प्रतिशत काट्नै बाँकी छ । दवाडीका अनुसार जिल्लामा धानको सरदर उत्पादकत्व ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।
मुख्यतय: मन्सुरी, हाइव्रेड, यूपीएस ३१२, यूपीएस ३८३, मकवानपुर १, सावित्री, रामधान, सुनौलो सुगन्ध, राधा ४, खुमल ११, खुमल १३ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ । बर्मेली, पहेंले, आँप झुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, बातिसरा, अनदी, गोरखनाथ, लोकनाथ, खुमल, गोला लगायतका स्थानीय जातका धान पनि रोपिने गरिएको कृषि विकास अधिकृत दवाडीले बताउनुभयो । -ekantipur