स्याङ्जा, कात्तिक २१ – राष्ट्रिय जनमोर्चाले स्याङ्जामा वाम गठबन्धनसँग तालमेल नगरेको जनाएको छ । वाम गठबन्धनले राष्ट्रिय जनमोर्चा पनि समावेश भएको प्रचार गरेको खबर प्राप्त भएपछि पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार राजेन्द्र गैह्रेले विज्ञप्तीमार्फत कुनै पार्टीसँग तालमेल नभएको उल्लेख गर्नु भएको हो ।
‘पार्टीले उम्मेदवार फिर्ता गराएको छैन । राजमोका अध्यक्ष गैह्रेले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ‘झुटको खेति गरेर वाम गठबन्धनले जनमोर्चाका उम्मेदवारले फिर्ता लिएको भन्ने प्रचार प्रसारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’
स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि यामबहादुर हमाल, क्षेत्र नं. २ बाट राजेन्द्र गैह्रे र क्षेत्र २ को ‘क’ को प्रदेशसभाका लागि मेनुका सार्की उम्मेदवार कायम रहेका विज्ञप्तीमा उल्लेख गरिएको छ । जनमोर्चा चुनावी मैदानबाट नभागेको र उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लागेको जनाएको छ । -Ujyalo