स्याङ्जामा प्रत्यक्षमा उम्मेदवारी दिने धेरै युवा

0
2019

स्याङ्जा, कात्तिक – आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि स्याङ्जाबाट उम्मेदवारी दिनेहरुमा युवाको वर्चस्व रहेको छ ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले समेत उम्मेदवारी दिनुभएको स्यानङजामा सबै भन्दा धेरै युवा उठाउनेमा श्रेष्ठ कै पार्टी नेपाली कांग्रेस रहेको छ । कांग्रेसले क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ युवा नेता राजु थापालाई उम्मेदवार बनाएको छ । थापा यसअघि पनि सभासद रहनुभएको थियो । त्यस्तै प्रदेशतर्फ नेपाली कांग्रेसबाटै क्षेत्र नं २ (क) मा नेविसंघका निर्वतमान केन्द्रिय सदस्य विष्णु प्रसाद पौडेल र (ख) बाट तरुण दल स्याङ्जाका अध्यक्ष भगवत प्रकाश मल्ललाई उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै वाम गठबन्धनकातर्फबाट क्षेत्र नं २ (ख) मा माओवादी केन्द्रले युवा नेता सूर्यप्रसाद गैह्रे (पारस) लाई उम्मेदवार बनाएको छ । गैह्रे माओवादी केन्द्र स्याङ्जाका संयोजक समेत रहनुभएको छ । नेकपा एमालले समानुपातिक तर्फ युवालाई स्थान दिए पनि प्रत्यक्षमा भने उम्मेदवार बनाएको छैन ।

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले क्षेत्र नं. २ बाट प्रनिनिधिसभाका लागि उम्मेदवार दर्ता गराउनु भएको छ । यस अघि २०७० समानुपातिक सभासद बन्नु भएका श्रेष्ठले २०६४ को पहिलो संविधान सभाको चुनावमा तत्कालिन २ नम्वर क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँको प्रतिस्पर्धीको रुपमा वाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रिय सदस्य तथा पूर्व सभासद पद्मा अर्यालले उम्मेदवारी दिनुभएको छ । अर्याल २०६४ को पहिलो संविधान सभामा समानुपातिक सभासद बन्नु भएको थियो ।

प्रतिनिधिसभाका लागि १ मा कांग्रेसबाट राजु थापा र एमालेबाट नारायण मरासिनीले उम्मेदवारी दिनुभएको छ । थापा र मरासिनी २०७० को दोस्रो संविधानसभा सदस्यमा प्रतिस्पर्धा गर्दा थापा विजयी हुनुभएको थियो ।

क्षेत्र नं १ क बाट प्रदेशको लागि कांग्रेसबाट कमल प्रसाद पंगेनी वाम गठबन्धनबाट माओवादीका दीपक थापा र (ख) मा कांग्रेसबाट तुलसी गिरी र एमालेबाट मिन प्रसाद गुरुङले उम्मेदवारी दिनुभएको छ । त्यस्तै क्षेत्र नं २ (क) बाट वाम गठबन्धनको तर्फबाट एमालेका मोहन रेग्मीले उम्मेदवारी दिनुभएको छ ।

स्याङजामा एक स्वतन्त्रसहित १० पार्टीका ४१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २ संघ र ४ प्रदेश रहेको स्याङ्जामा नेपाली कांग्रेस, वाम गठबन्धका एमाले र माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँशक्ति, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, माले र मंगोल नेशनल पार्टीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत रमेश कान्त अधिकारीले जानाकारी दिनुभयो ।

प्रतिनिधिसभा १ मा नयाँ शक्तिका टिकाराम पौडेल, राष्ट्रिय जनमोर्चाका ज्ञान बहादुर हमाल, जनमुक्ति पार्टीका बाबुराम थापा, मंगोल नेशनल पार्टीका भिम बहादुर गुरुङ र स्तन्त्र चण्डीप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै प्रदेश तर्फ (क) मा नयाँ शक्तिका पोम नारायण अर्याल, राजमोका रुद्र बहादुर थापा, राप्रकाका भूमिजंग केसी, मंगोल नेशनलका दुर्गा राम गुरुङले उम्मेदवारी दर्ता गरेको अधिकारीले जानाकारी दिनुभयो ।

त्यस्तै प्रदेश (ख) मा नेकपा मालेका नेत्र बहादुर थापा, नयाँ शक्तिका दिनेश अर्याल, राप्रपाका विश्व बन्दु पौडेल, मंगोल नेशनलका खड्क बहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै प्रतिनिधिसभा २ मा संघीय समाजवादी फोरमका अर्जुन राना, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, नयाँ शक्तिका टिकाराम रेग्मी, मंगोल नेशनल पार्टीका रत्न बहादुर थापा, नेपाली कांग्रेस बिपीले रामभक्त भट्राईले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा २ को (क) मा राजमोका मेनुका सार्की, नयाँ शक्तिका रवीन पाठक, राप्रपाका रुद्र बहादुर केसी, मंगोद नेशनलका राजु गुरुङले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै (ख) मा नयाँ शक्तिका भरत पाठक, मंगोल नेशनल पार्टीका सोमबहादुर गुरुङ र राप्रपाका भिम बहादुर गोदार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

स्याङ्जा क्षेत्र नं. १ मा १ लाख ८ हजार ६ सय ८९ सोहि क्षेत्रको प्रदेश नं. १ मा ५३ हजार ३ सय ४८ र २ मा ५५ हजार ३ सय ४१ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं. २ मा १ लाख १ हजार ३ सय ४९ मतदाता छन् भने सोहि क्षेत्रको प्रदेश १ मा ४७ हजार २ सय ४ र प्रदेश २ मा ५४ हजार १ सय ४५ मतदाता रहेका छन् ।

Source: राधाकृष्ण डुम्रे/उज्यालो ।