स्याङ्जा, कात्तिक १५ – स्याङजाको सोरेकमा बुधबारबाट अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । स्याङजाको भीरकोट नगरपालिकाको सोरेक मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक २० गते सम्म सञ्चालन हुनेछ ।
बाबुु एडभेन्चर क्लवको आयोजना एवं स्याङजाका ११ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल पर्यटन वोर्ड र राष्ट्रिय खेलकुद परिषदकोे सहयोगमा प्रतियोगिता गरिएको हो ।
पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ प्रतियोगितालाई आधिकारिकता दिँदै राष्ट्रिय खेलकुद परिषदले सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि हवाई खेलाडी छनौट गर्ने जनाएको छ । जसमा नेपाली खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगितामा नेपाललगायत २० देशका तीन सयभन्दा बढी प्यारापाईलटहरुको सहभागिता रहने क्लवले जनाएको छ । प्रतियोगितालाई हवाई खेल क्षेत्रको सर्वोच्च संस्था एफएआई ( फेडेरेसन अफ एरोनोटिक इन्टरनेसनल) ले मान्यता दिएर आधिकारिक निर्णयसमेत पठाएको क्लवका प्रमुख प्रशिक्षक सानुवावु सुनुवारले जानकारी दिनुभयो ।
क्रस कन्ट्री प्रतियोगिता निश्चित स्थानबाट निश्चित स्थानमा पुगेर ल्याण्ड गर्ने, नेपालको पाइलटहरुको पर्यटक बोेकेर उडान क्षमता पत्ता लगाउन टेन्डम पाइलट प्रतियोगिता र ओलम्पिकमा सहभागी हुन एक्यूरेसी प्रतियोगिता (सानो बाकस भित्र ल्याण्ड गर्ने) हुने छ । टेन्डम प्रतियोगिता नेपाली पाइलटहरुमा मात्रै संचालन हुने छ भने अरु सबै खुल्ला रुपमा प्रतिस्पर्धा गराइने आयोजकको भनाई छ ।
स्रोत: उज्यालो ।