दाइलाई अपहरण गरी फिरौती माग्ने भाइसहित ३ पक्राउ, अपहरणकारीले खिचे भिडियो
स्याङजा, भदौ २७ – दाइ नाता पर्नेलाई अपहरण गरी फिरौती माग्ने अपहरणकारी भाइसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका-५ बस्ने ३८ वर्षका जनुरद्दिन मियाँलाई अपहरण गरी फिरौती माग्ने उनका भाइ पर्ने मोहबिनदिन मियाँसहित तीन जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको हो । जनुरद्दिनलाई अपहरण गरी ३५ लाख रुपैयाँ फिरौती रकम माग्दै कुटपिट गर्ने मोहबिनदिन कान्छा बुवाको छोरा भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गल्याङ् नगरपालिका वडा नं. २ का ४० वर्षका मोबिनद्दिन मियाँ सँगै कालीगण्डकी गाउँपालिका-६ का २४ वर्षक सुन्दरप्रसाद अधिकारी, २७ वर्षका सन्तोष श्रेष्ठ रहेका छन् । अपहरणकारीले चप्पल तथा जुत्ता ब्यापारी मियाँलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरि घाइते बनाएपछि अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारको लागि लगेको थिए ।
यसरी थाहा भयो अपहरण
फिरौती माग्दै कुटपिटपछि घाइते अवस्थामा रहेका जनुरद्दिन मियाँलाई अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारको लागि लगेका थिए । मियाँले चिकित्सकलाई आफूलाई अपहरणमा परि कुटपिट गरी घाइते बनाएको भन्दै प्रहरीलाई खवर गरीदिनका लागि अनुरोध गरेका थिए । पीडित जनुरद्दिनले अपरणकारीको आखाँ छली नर्सको कलम गोप्य रुपमा मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिएका थिए । कागज दिएपछि अस्पतालले प्रहरीलाई खवर गरेको थियो । कुटपिटबाट गम्भीर घााइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि मात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाँको भनाई छ ।
अपहरणमा परेका घाइते जनुरद्दिन मियाँ
तीनै जना वडा प्रहरी कार्यालयमा
अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरण मुक्तगरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । प्रहरीले पीडित मियाको बा. ८ च. ३५६२ नम्बरको कार र उनकै कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ वटा खुकुरी, कालो रङको फलामको पन्चिङ १ थान, ड्रील मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरस्क्षक चिन कपुर गुरुङले जानकारी दिनुभयो ।
अपहरणको भिडियो रेकर्ड भेटियो
अपहराणकारीलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा सुन्दरप्रसाद अधिकारीको मोबाइलमा घाइते जनुरदिन मियाँलाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला परेको प्रहरीले जनाएको छ । अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नम्बरको साईन, र लु. २२ प. १४१२ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा छ । पीडित पक्षले घटना सम्बन्धमा शरीर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।-राधाकृष्ण डुम्रे/उज्यलो ।