स्वाइन फ्लुबाट स्याङ्जाका एक जनाको निधन पछि सचेतता अपनाउन आग्रह सहित वालिङमा पत्रकार सम्मेलन !!!!!
स्वाइन फ्लुबाट स्याङ्जामा एकजनाको ज्यान गएको छ । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर सचेत रहन सबैसँग आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा स्वाइन फ्लुका कारण वालिङ–९ का ४९ वर्षका खुमप्रकाश अर्यालको टिचिङ अस्पतालमा निधन भएको जानकारी गराईएको थियो ।अर्याल वालिङमा उपचार गरी पोखरा हुँदै काठमाडौं उपचारका लागि पुग्नु भएको थियो ।
अर्यालको स्वाइन फ्लुका कारण भएको अस्पतालले जनाएको छ । केही हप्तादेखि वालिङ तथा आसपासमा ज्वरोका बिरामी बढेका छन् । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना ज्वरोका बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।
स्वाईन फ्लुको लक्षण
चिकित्सकहरुका अनुसार पान्डमिक इन्फ्लुएन्जा ए एचवानएनवान रोगले ९९ प्रतिशत मानिसमा मन्द प्रकृतिको रुघाखोकी र १ प्रतिशतमा मात्रै गम्भीर असर गर्छ । रोगीको सम्पर्कमा आएका प्रत्येक तीन जनामा एक बिरामी हुन्छन् । १० मा एक जनामा इन्फेक्सन हुन्छ । प्रति १० हजारमा चारदेखि १० जनाको मृत्यु हुन्छ ।
सामान्य रुघाखोकीमा जस्तै यो रोगमा पनि ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, झाडापखाला हुने, नाकबाट पानी बग्ने लक्षण हुन्छ । इन्फ्लुयन्जाका समस्यामा स्वासप्रश्वासमा अप्ठ्यारो हुने, मुखबाट रगत आउनेजस्ता लक्षण देखिएमा मात्रै तुरुन्त अस्पताल जानुपर्ने हुन्छ होइन भने एक हप्ताको आरामले नै स्वाइनफ्लु निको हुने चिकित्सकहरु बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डेका अनुसार स्वाइन फ्लु कुनै असामान्य रोग होइन, सामान्य रुघाखोकी नै हो । उनले रुघाखोकी लागेका व्यक्तिले हाछिउँ गर्दा वा खोक्दा रुमालले नाकमुख छोप्ने र प्रशस्तमात्रामा झोल पदार्थ र मनतातो पानी खाँदा यो रोग निको हुने बताए । तर, जटिल अत्याधिक ज्वरो आउने, मुखबाट रगत नै आउँने तथा स्वासप्रस्वासमा समेत जटिल समस्या आउँदा समेत सामन्य नै हो भनेर बस्नु भने नहुने उनको सुझाब छ । यस्तो अवस्थामा तुरुन्त अस्पताल पुग्नु पर्दछ ।
जोखिम समुह
यो रोगले बच्चा, युवा, बूढाबूढी सबैलाई रुघाखोकीले सताउने गर्छ । युवाको रोगसँग लड्ने क्षमता बढी हुने भएकाले अर्थात् उनीहरूको रोगप्रतिरोध शक्ति बढी हुने भएकाले यो रोगले युवालाई खासै असर गर्दैन । तर, यो रोग केही खास वर्गका व्यक्तिलाई भने बढी जोखिमका रूपमा लिने गरेको पाइन्छ । डा. पाण्डेका अनुसार, पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, दमका रोगी तथा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लागेका एवं मुटु र मिर्गाैलासम्बन्धी रोग लागेकालाई यो रोगले छिट्टै समात्ने तथा बढी खतरा रहने गरेको छ ।
त्यसैगरी, मधुमेह भएका तथा एचआइभी एड्स रोग लागेकालाई पनि यो रोगले चाँडै पक्रन सक्छ । यी रोगबाट पीडित तथा बालबालिका र गर्भवतीको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले जस्तोसुकै रोगले चाँडै समाउन सक्ने हुनाले उनीहरूले धेरै सतर्कता अपनाउनुपर्ने डा. पाण्डेले बताए । उनका अनुसार, यी समूहका मानिसले यो रोगमा हेल्चेक्र्याइँ गरेमा मृत्युसमेत हुन सक्छ ।
जोगिने उपाय
चिकित्सकका अनुसार, यी रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छयुँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ । हात नधोईकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन् । यदि, हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्ने चिकित्सकको भनाइ छ । खोक्दा, हाच्छयुँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ । हेल्चेक्र्याइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ । फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहँ“लो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ ।
एक सातासम्म अरू व्यक्तिको सम्पर्कमा नआईकन घरैमा बसी आराम गरी प्रशस्त मात्रामा तरल खानेकुरा खाएर उपचार गर्नुपर्छ ।बाहिर निस्कने परेमा मास्क अनिवार्य रुपमा लगाउने । घरेलु औषधि र झोल खानेकुराको सेवन नै महत्वपूर्ण उपचार मानिन्छ । रुघाखोकीमा मात्र नभएर स्वाइनप्mलुका लागि पनि यही घरेलु उपचार पद्दति अपनाइन्छ । प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन ‘सी’ युक्त फलफूल, खाने, उचित आराम गर्ने,गरेमा रोग निको हुने डा पाण्डे बताउँछन् ।
-Radhakrishna Dumre Ujyaloonline