इयूको कालोसूचीबाट पनि नेपाललाई हटाउन पहल गरिने , ईकाओको गम्भीर सुरक्षा चासो सूचीबाट नेपाल हट्यो
काठमाडौं इयूको कालोसूचीबाट पनि नेपाललाई हटाउन पहल गरिने श्रावण ६, २०७४ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ)ले सन् २०१३ देखि नेपालमाथि लगाएको गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । नागरिक उड्ययन संगठनको गम्भिर सुरक्षा चासो सम्परिक्षण कमिटिको हिजो बसेको बैठकले नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीबाट हटाउने निर्णय गरेको हो ।
नेपाल गम्भिर सुरक्षा चासोको सूचीमा परेपछि यही जुलाईमा आएको इकाओको टोलीले हवाई कानुन, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो । सम्परीक्षणपछि नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसहरुको परिपालना दर औसतभन्दा ६ प्रतिशतले बढेर ६६ दशमलव ०८ प्रतिशत कायम भएपछि इकाओले गम्भीर सुरक्षा चासो सूचीबाट नेपाललाई हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिले बैंककमा बैठक गरी नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको बताउनुभयो । युरोपेली युनियन ईयुले पनि नेपाली एयरलाईन्सहरुलाई आफ्नो आकाशमा प्रवेश निषेध गर्दै कालोसूचीमा राखेको छ । आईकाओको पछिल्ले निर्णयलाई आधार बनाएर इयूको कालोसूचीबाट पनि नेपाललाई हटाउन पनि पहल गरिने महानिर्देशक गौतमले बताउनुभयो । आईकाओले नेपाली एयरलाईन्सलाई गम्भीर सुरक्षा चासो सूचीमा राखेसंगै ईयुले समेत कालोसूचीमा राखेको थियो ।
-Kantipur