निगमले आइतबार मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ घटाएको छ।

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। निगमले आइतबार मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ घटाएको छ। आन्तरिक तर्फको हवाई इन्धनतर्फ प्रति लिटरमा चार रुपैयाँ घटाइएको छ।
निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल प्रति लिटरलाई ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटरलाई ७४ रुपैयाँ तथा खाना पकाउने एक थान सिलिण्डरलाई एक हजार तीन सय ५० रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ। हवाई इन्धनको ८२ रुपैयाँ कायम भएको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) ले जुलाई १ तारिखमा पठाएको मूल्य सूचीको आधारमा सबै प्रकारको इन्धनको मूल्य समायोजन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
केही दिन अघि मात्रै पेट्रोलको मूल्य समायोजन गरी प्रति लिटर सय, डिजेल र मट्टितेलको प्रति लिटर ७६ रुपैयाँ कायम भएको थियो। प्रति सिलिण्डरको यसअघि एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको थियो भने हवाई इन्धनको ८६ रुपैयाँ थियो।












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































