राज्यःपुनसंरचनापछि स्थानीय तहको पहिलो निर्वाचनबाट स्याङ्जाको पुतलीबजार नगरपालिकाले पहिलो पटक महिला मेयर पाएकोे छ । महिला मेयरमा निर्वाचित भएपछि राज्यको ठूलो हिस्सा महिलाबर्ग खुशी छन् । बर्षौंदेखि कुण्ठित आफना हक, अधिकार र सम्बृद्धिका पाटालाई सफल कार्यान्वयन हुनेमा महिलाबर्ग विश्वस्त देखिन्छन् । ४९ बर्षिया क्षेत्री विद्यालय तहदेखि अखिलका तर्फबाट विद्यार्थी राजनीतिमा लाग्नु भएको हो । उहा हाल प्रदेश नं. ४ का सदस्य र अखिल नेपाल महिला सङ्गठनका केन्द्रीय सदस्य हुनुहुन्छ । २५ बर्षे शिक्षण पेशावाट अवकासप्राप्त क्षेत्री आफना राजनीति गुरु र कक्षाका गुरु भनेर पति टेकबहादुर भुजेललाई ठान्नुहुन्छ । जापान, वैङकक, श्रीलङका, भारत र वंगलादेश लगायतका देश भ्रभण गरिसक्नु भएका क्षेत्रीसगँ हरेक व्यक्तिसँग सजिलै घुलमिल हुन सक्ने क्षमता छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कोषाध्यक्ष हुँदै केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष बन्नुभएका क्षेत्री राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ । शिक्षण पेसा हुँदै राजनीतिमा होमिनु भएका नवनिर्वाचित सीमा क्षेत्रीसंगको अन्र्तवार्ताको सम्पादित अंश ।
नगरपालिकाको मेयरमा निर्वाचित भएपछि कस्तो अनुभव गरिरहनु भएको छ र?
महिला भनेका अझै पनि दोस्रो दर्जाका रूपमा हेर्ने हाम्रो समाजले आज म महिलालाई नै पुतलीबजार नगरपालिकाको प्रमुख बन्ने अवसर दिएको छ । यस अवसरले मलाई गौरवान्वित बनाएको छ । यो गरिमामय पद र जिम्मेवारी ग्रहण गर्दे सकारात्मक र नगर विकासका लागि आवश्यक कार्यगरी सम्पूर्ण नगरवासीको मन जित्ने कोसिस गर्नेछु ।
नगर विकासका लागि तपाईका प्राथमिकताहरु के के हुनेछन ?
पुतलीबजार नगरक्षेत्र अन्र्तगतका सबै वडा वडामा महिलाका सञ्जाल गठन गरी महिलाहरुका क्षमता पहिचान गरी रोजगार तथा सीपमूलक तालिम र महिला शिक्षामा जोड दिने पहिलो काम हुनेछ । जवसम्म महिला शिक्षित र रोजगार हुँदैनन्, तवसम्म त्यो परिवार सन्तुलित बन्न सक्दैन । त्यसैले पहिला महिलालाई आत्मनिर्भर बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । यसै गरी, रोजगारका लागि बिदेशीन बाध्य युवा जगतलाई आफनै नगरमा अड्याउने खालका विविध रोजगारमुलक कार्यक्रम, नगर भित्रका सबै वडाहरुमा पक्की मोटरबाटोको पहुँच र शुद्ध खानेपानीको व्यवस्था, धार्मिक पर्यटकीय क्षेत्रहरुका बिस्तार एवं संरक्षण, एक गाँउ एक उत्पादनमा जोड दिने लगायतका कार्यहरू गर्नेेछु । समग्रमा भन्नुपर्दा सम्मृद्ध पुतलीबजार निर्माण हाम्रो अभियान हो ।
नगरपालिका भित्र फोहोर व्यवस्थापन, भवन निर्माण आचार संहिता, खानेपानी लगायतका समस्या छन्, यसलाई कसरी व्यवस्थापन गर्ने सोच बनाउनु भएको छ ?
वि.स २०५४ सालमा गठित पुतलीबजार नगरपालिका क्षेत्रफलका हिसाबले ठूलो छ । पोखरा महानगरपालिका र वालिङ् नगरपालिका जस्ता विकसित नगरपालिकाको बिचमा रहेर पनि यसले चाहेजति विकास गर्न सकेको छै्रन । झन्डै २० वर्षदेखि जनप्रतिनिधीको रिक्तता, प्रायजसो: कार्यकारी अधिकृतहरु पनि वर्ष दिन नपुग्दै सरुवा हुन चाहने लगायतका कारणले पुतलीबजारले सक्ने जति पनि काम गर्न सकेनन् । अव हामी आइसकेका छौँ । पुतलीबजारलाई साँच्चीकै पुतली जस्तै सुन्दर बनाउने छौँ । सबै नगरबासीहरुको राय, सुझाव बमोजिम फोहोर व्यवस्थापन र भवन निर्माण आचारसंहिता पूर्णत कार्यान्वयनमा जोड दिनेछौं । राम्रो काम गर्नेलाई प्रोत्साहन र काममा बाधा पुर्याउनेलाई कारबाही गरेर पनि हामी अघि बढ्नेछौं । पुतलीबजार नगरपालिकाको साख र गरिमा उचो बनाउन सबैको सहयोग आवश्यक पर्ने हुँदा सबै राजनीतिक दलहरुबीचको सहकार्यबाट अघि बढ्नेछु । व्यवस्थित र सुन्दर नगर बनाउन आवश्यक मापदण्ड, ऐन कानुन र नियमको परिपालना गर्दै नक्कली र अनियमितता प्रवृद्धीको अन्त्य गर्न म प्रतिबद्ध छु ।
महिलालाई नेतृत्व दिने बेलामा क्षमतामाथि प्रश्न उठाउने गरिन्छ, तपाईँको विचारमा के लाग्छ?
निश्चय नै हो । जनसंख्याको ठुलो हिस्सा ओगटेका महिलाबर्ग जुनसुकै आन्दोलनमा अग्रपंक्तिमा हुन्छन् । विभिन्न कालखण्डका राजनैतिक आन्दोलनमा धेरै महिला दिदीबहिनीहरुले ज्यान गुमाएका छन्, कोही अपांग छन् त कोही सबै गुमाएर एक्लै बस्न बाध्य छन् । आन्दोलन र बलिदानका बेला महिला अग्रपंक्तिमा भिडेको देख्न चाहनेहरु आज राज्यद्धारा महिलाका लागि छुट्टाइएका निश्चित कोटा दिनु पर्दा उनीहरूको क्षमतामा प्रश्न उठाउने गर्दा अत्यन्त दुख लाग्छ । महिला त घरमै बस्ने, बच्चा जन्माउने, घर सम्हाल्ने जस्ता मानसिकताबाट ग्रसित पुरुषवादी चिन्तनका कारण पनि महिलाको क्षमतामा प्रश्न उठ्ने गरेको हो । विगतका तुलनामा धेरै परिवर्तन आएको छ । तर, अझै प्रयाप्त भने छैंन । महिला दिदीबहिनीहरु उच्च ओहदामा पुग्नु भएको छ । राष्ट्रपति, प्रधानन्यायधीश, सभामुख तीनै परिवर्तनका केही उदाहरणहरू हुन । उहाहरुका कार्यकुशलता र क्षमता कुनै पुरुषका भन्दा कम देखिएका त छैनन् नि ? महिलालाई शिक्षा र काम गर्ने अवसर दिनुपर्छ । कामले काम सिकाँउछ । अवसर पाएमा कुनै पनि महिला, पुरुष भन्दा कम हुने छैंनन् ।
राजनीतिमा निरन्तर लागिरहन के कुराले प्रेरित गर्यो ?
कक्षा ६ मा पढ्दै गर्दादेखि म अखिलको विद्यार्थी बनें । विद्यालयमा ८-९ मा पढ्ने दिदीहरुले संगठन बिस्तार गर्नुभएको थियो । उहाँहरू फुर्सदका समयमा होस् वा खाजा खाने समयमा जनवादी गीत गाएर हामीलाई सुनाउनुहुन्थ्यो । ती गीतहरू साह्रै मर्मस्पर्शी थिए । तीनै गीतहरुको माध्यमबाट म अखिलको विद्यार्थी बनेकी थिए । समाजमा घट्ने महिला हिंसाका घटनाले पनि मलाई सशक्त राजनीतिमा होमिन प्रेरित गराएको हो । त्यसपछि टेकबहादुर भुजेल गुरुसंग मेरो भेट भयो । उहाँले मलाई ट्युसन पढाउनुहुन्थ्यो र राजनीति पनि सिकाउनुहुन्थ्यो । पछि उहांसंगै मैले विवाह गरे अन्तत: उहाँ मेरा शिक्षा र राजनीति दुवैका गुरु हुनुभयो । उहाँहरू नै मेरा राजनीतिका प्रेरक हुनुहुन्छ ।
आजको यस सुखद क्षणमा सबैभन्दा धेरै सम्झनु भएको व्यक्तित्व ?
मेरो जन्म तत्कालीन पौवेगौडे गाविसमा भएको हो । म साँढे २ वर्षको हुँदै बुवा उदयराम पाध्याको निधन भएपछि आमा हिमकुमारी कार्कीले आमाबुवा दुवैको जिम्मेवारी निर्वाह गर्नुभयो । एक दाइ र ४ दिदीबहीनी मध्ये कान्छी छोरी म यो स्थानसम्म आउन आमाले भोगेका ती संघर्षका दिन मैले प्रत्येक्ष देखेंकी छु । आमाले गाउँमै सामान्य चिया पसल संचालन गरेर हामीलाई हुर्काउनु भएको हो । गाउँलेहरूले दलितलाई चिया खुवाएको भन्दै दुध ल्याउन समेत बन्द गराएका थिए । बुबाको त कुनै सम्झना नै छैंन । आज आमा हुनुहुन्न, उहाँ भैदिएको भए मेरो खुशीमा सवैभन्दा बढी खुसी उहाँ नै हुनुहुन्थ्यो । तर, सासु पुर्णकुमारी भुजेल मेरा लागि आमा जस्तै हुनुभएकोले मैले राजनीतिमा सफलता मिलेको छ । साथै दुई छोरा र बुहारीको सकारात्मक साथले मेरो राजनीतिक यात्रा सफल भएको हो ।
स्रोत: महिलाखबर ,यो अन्तर्वाता mahilakhabar.com सभार गरिएको हो।