आँधीखोला गाउँपलिका अध्यक्षको प्राथमिकतामा खानेपानी र टोल–टोलमा सडक सञ्जाल

0
1978
तस्बिर: कान्तिपुर
तस्बिर: कान्तिपुर

जेष्ठ १३, २०७४- पाँच नगरपालिका र ६ गाउँपालिका गरी जिल्लामा एघार वटा स्थानीय तहमध्ये धार्मिक, पर्यटन र कृषिको प्रचुर सम्भावना बोकेको एक मात्र गाउँपालिका हो आँधीखोला । यहाँ कृषिको पनि उत्तिकै सम्भावना छ । त्यति मात्र होइन यो ठाउँले देशमा मात्र नभई विदेशमा समेत स्याङ्जालाई परिचर्चामा पुर्‍याएको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा १६ हजार ५ सय ८९ जनसंख्या छ । ६९.६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा निर्वाचित अध्यक्ष सुधीर पौडेल भन्छन्, ‘सम्भावनासँगै चुनौती पनि उत्तिकै छन् । धैर्य भएर सामना गर्दै जाने हो ।’उनी आफैं पनि राजनीतिमा पिछडिएका व्यक्ति हुन् ।

आँधीखोला गाउँपालिका २ झारखोला स्थायी ठेगाना भई ०२८ सालमा जन्मिएर ०६० सालमा स्नातकोत्तर गरेका उनी पार्टीमा पनि त्यति अवसर पाउन नसकिएको बताउँछन् । ०४२ सालमा पृश्वीनारायण क्याम्पस पोखरामा भएको अपहरण काण्डदेखि राजनीतिमा होमिएका हुन् । आफ्ना राजनीतिका सहयात्रीहरु, सांसद, मन्त्री र पार्टी केन्द्रीय सचिवसम्म पुगे तापनि आफू भने हालसम्म पार्टीको जिल्ला सचिव पदमा छन् ।

राष्ट्रिय मावि पोखरा, पृश्वीनारायण क्याम्पसको अनेरास्वियु अखिलको अध्यक्ष, सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष, अनेरास्वियुको गण्डकी अञ्चल अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख हुँदै पार्टीको कास्की जिल्ला सदस्य, जिल्ला पार्टी कार्यालय स्याङ्जाको उपसचिव हुँदै हाल जिल्ला सचिव रहेका उनी गाउँपालिका अध्यक्ष लड्लान् भनेर कसैले परिकल्पना समेत गरेका थिएनन् ।

अखिलमा रहेर सँगै काम गरेका हितैषी दौंतरीहरु केन्द्रीय उच्च तहमा पुगिसकेका र उनी पनि राजनीति हिसाबले उच्च स्थानमा पुगिसकेकाले गाउँपालिकाको अध्यक्ष सुहाउँदैन भन्दै कतिपयले त अरुलाई नै टिकट दिने चर्चा चलाए तर पनि टिकट उनले नै पाए । एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका उनी अन्तत: प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेललाई भारी मतले पछार्दै अध्यक्षमा निर्वाचित भए । ‘जिन्दगीमा दु:खका उकाली ओराली धेरै भोगे’भावुक हुँदै उनले भने,‘सायद राजनीतिमा मैले जति दु:ख भोग्ने कमै होलान् । जिन्दगीभर दु:ख भोगेर र पार्टीबाटै पछाडि परेर पनि राजनीतिलाई निरन्तरता दिने कोही हुँदैनन् । मलाई नेताको साथ कहिल्यै भएन र कार्यकर्ताको माया कहिल्यै टुटेन पनि ।’उनले गाउँपालिका अध्यक्ष भए पनि चित्त बुझाउने माध्यम मात्र रहेको बताए । आँधीखोला गाउँपालिकामा युवालाई नै पहिलो प्राथमिकतामा राखेर उनी गुरु योजना तयार पार्दै छन् ।

  • मेरो पहिलो प्राथमिकता भनेको खानेपानी र टोल–टोलमा सडक सञ्जाल पुर्‍याउने हो । नेपालकै पहिलो ग्रामीण पर्यटकी क्षेत्र सिरुवारी, अन्धाअन्धी दह, सर्वणकुमार र पंचासे जस्ता धार्मीक र पर्यटकीय स्थानहरु पनि यही क्षेत्र भित्र पर्ने भएकाले यसैमा सिमित रहेर अगाडी बढ्ने लक्ष्य छ ।
  • युवाहरुलाई कृषिमा लगानी गरी आयस्रोतको राम्रो व्यवस्था साथै बेरोजगारीलाई रोजगारी सृजना गर्ने, सरकारी विद्यालयमा शैक्षिक गुणस्तर एक रुपताका साथ बढाउने, शिक्षाको लागि गाउँपालिकाका मान्छे बाहिर जानबाट रोक लगाउने, प्राविधिक शिक्षामा जोड, जैविक विविधता प्रयोग गरी आर्थिक र सामाजिक क्षेत्रमा जोड्ने, गाउँपालिकामा सेवाग्राहीलाई कामको प्रकृतिअनुसार समय तोक्ने, प्रत्येक वडा कार्यालयहरु प्रविधिमैत्री बनाउने, वडामा नै बृद्धाभत्ता वितरण गर्ने, सम्भावित स्थानहरुबाट प्याराग्लाइडिङ सुरु गरिने, विगतदेखि नै बन्द राखिएको आँधीखोला जलविद्युत् आयोजना पुन: सञ्चालनमा ल्याउने छु ।
  • गाउँपालिकाको भवन निर्माण गर्न हाल जग्गाको खोजी भइरहेकोछ । पार्किङसहितको ५० वर्ष सम्म टिकाउ हुने गरी भवन निर्माण गर्ने योजना छ । जग्गा खोज्न र भवन निर्माण गर्ने आर्थिक स्रोत जुटाउनु नै पहिलो ठूलो चुनौती छ ।
  • युवा लक्षित कार्यक्रममा खेलकुद र कृषिको गुरुयोजना तयार छ । कृषियोग्य भूमि साथै जलाशयको पनि राम्रो स्थान मानिने यो गाउँपालिका खेलाडी उत्पादन गर्ने मध्ये पनि पर्दछ । एकीकृत बस्ती विकास गर्ने, प्राप्त रहेका वन पैदावारलाई अध्ययन गरी सदुपयोग गर्ने, आँधीखोला तटबन्धन गर्ने, सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्ने र इलाका प्रशासन कार्यालय लैजान समेत प्रयास छ ।