वैशाख २४, २०७४- अघिल्लो साताको तुलनामा गत साता सेयर कारोबार करिब ४० प्रतिशतले घटेको छ । अघिल्लो साता बजारमा ५ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा गत साता घटेर ३ अर्ब ४० करोड १२ लाख रुपैयाँमा झरेको छ । कारोबार रकम ४०.२६ प्रतिशतले कम हो । स्थानीय निकायको चुनाव हुने निश्चित भएपछि पनि बजारमा अपेक्षाअनुसार कारोबार बढ्न सकेन । लगानीकर्ताको आत्मबल बढ्न नसकेपछि उनीहरूले थप लगानी विस्तार गर्न नचाहेको र पुरानो लगानीबाट पनि मुनाफा सुरक्षित गर्न थालेपछि कारोबार रकम घटेको विश्लेषकहरू बताउँछन् । गत साता २७ हजार ७ सय ६ पटकको व्यापारमा १ सय ५४ कम्पनीका ५३ लाख ८४ हजार सात सय ९० कित्ता सेयरहरू खरिद–बिक्री भए । अघिल्लो साता करिब ४१ हजार ९ सय कारोबारबाट १ सय ५६ कम्पनीका ८२ लाख ४ हजार कित्ता सेयर किनबेच भएका थिए ।