कान्तिपुर— वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानडियन खेलाडी कोरी वालेसले हात पारेका छन् ।
स्याङ्जाको वालिङ्मा संचालित अन्तरराष्ट्रिय वालिङ्-१०० माउन्टेन बाइक प्रतियोगिताकाे उपाधि हात पारेका क्यानेडाली खेलाडी कोरी वालेस । तस्बिर : कान्तिपुर
कोरीले एकसय किलोमिटरको दूरी ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरेका हुन्। टाइटलतर्फ प्रथम भएका कोरीले नगद ५ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम भइन्। उनले ३ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन्।
यसैगरी प्रतियोगितामा ८ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङले द्वितीय स्थान हात पार्न सफल भएकी छन्। द्वितीय भएसँगै गुरुङले ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन्। उनीहरुले क्रमशः १ लाख ५० हजार, ५० हजार र ३० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको घोषणसभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण एवं सम्मान गरेका थिए। २ पटकसम्म वर्ल्ड च्याम्पियन बनेका टाइटलतर्फ च्याम्पियन भएका क्यानेडाली खेलाडी वालेसले आफू सहभागी भएको प्रतियोगिता मध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको बताए।
यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताए। वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए।
प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो। -News Source: Kantipur