वालिङ : पर्यटन प्रर्वद्धनका लागी सय किलोमिटर अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता (Walling 100 ultimate MTB challenge) फाल्गुन २५ गते हुने भएको छ । वण्डरफूल वालिङ पर्यटन विकास संस्थाद्धारा वालिङ नगरपालिकाको संरक्षकत्वमा एक दिवसीय प्रतियोगिता हुने विहिबार वालिङमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको होे । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडि सहभागि हुने वण्डरफूलका अध्यक्ष दिनकर नेपालले बताउनुभयो । माउण्टेन वाईक प्रतियोगिताले वालिङलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा २ पटक सम्म वल्ड च्याम्पियन बनेका क्यानेडियन खेलाडि, भारतीय खेलाडि, आर्मी, एपिएफको समेत सहभागिता हुने अध्यक्ष नेपालको भनाई छ । वालिङलाई साहसिक खेलको केन्द्र बनाउनका लागी प्रतियोगिताले सघाउ पुग्ने उहाँले बताउनुभयो । यहाँ रहेका संस्कार संस्कृति, पर्यटन र प्रकृतिका माध्यमबाट वालिङ तथा स्याङ्जामा पर्यटक भित्र्याउने र पर्यटनका विकास गरी यहाँका नागरिकको जिवनस्तर माथि उकास्ने उद्देश्यले स्थापित वण्डरफूल वालिङ यहाँका युवाहरुको संस्था हो ।
यहाँ रहेका होमिस्टेको प्रचारप्रसार गर्दै पर्यटक आगमनमा अभिवृद्धि गर्नका लागी प्रतियोगिताले सहयोग गर्ने अपेक्षा लिईएको छ । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले प्रतियोगिताको आयोजना गर्नु दुरगामी लगानी भएको भन्दै यसले पर्यटन र साहसिक खेलमा एउटा कोषे ढुङ्गा सावित गर्ने बताउनुभयो । साईकलको प्रयोग जो कोहीको लागी पनि स्वास्थ्यका दृष्टिकोणबाट निकै लाभदायक रहेको भन्दै उहाँले भन्नुभयो, “प्रतियोगिताले कालान्तरमा साईकललाई कल्चरको रुपमा विकास गर्नेछ ।”
पर्यटन प्रर्वद्धन गर्दै अन्तराष्ट्रिय साईकल यात्रीलाई यहाँ भित्र्याउने वातावरण सृजना गर्ने भन्दै साईकल अभ्यासका लागी आँधीखोला करिडोर निर्माणको योजना रहेको समेत प्रमुख खांणले बताउनुभयो । एड्भेन्चर विकासका लागी विथ साईकल टे«किङ रुटको विकास गर्न सकियो भने विदेशी पर्यटकलाई यहाँ आकर्षित गर्न सकिने उहाँको भनाई थियो । प्रतियोगिताका लागी शुक्रबार साँझसम्म दर्ता प्रक्रिया खुल्ला रहने भन्दै वण्डरफुलका अध्यक्ष नेपालले भन्नुभयो, “विहिबारसम्म स्वदेशी र विदेशी गरी १८ जनाले दर्ता गरेका छन् ।” शुक्रबार साँझसम्म प्रतियोगिको संख्या बढ्नेछ ।
वालिङको सुकौँदी बगरबाट शुरु हुने प्रतियोगिता त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा, डुम्रेभञ्याङ, स्वरेकमैदान, टापु भञ्याङ, डौँवा हुँदै पुनः सुकौँदी आएर सय किलोमटिर यात्रा पुरा हुने वण्डरफूलका सचिव मोहन गुरुङले बताउनुभयो । प्रतियोगिता शनिबार फाल्गुन २५ गते विहान ७ बजेबाट शुरु हुने र साँझ ५ बजे सकिने सचिव गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले ५ हजार डलरसहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिहरुलाई यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा स्थानीयले स्वागत गर्नेछन् ।
Source-kaligandakikhabar












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)


































