स्याङ्जा – कालीगण्डकी गाउँपालिका–७ आरुखर्क स्याङ्जाका गोपाल भट्टराईले विदेशको करिब दश वर्षको लामो अनुभव र सिकाईलाई समेट्दै केही महिनादेखि काठमाडौंको मित्रनगरमा होटल न्यु फेमस सञ्चालन गर्दै आएका छन् । करिब ४० लाख रुपैयाँको लगानीमा सुरु गरिएको सो व्यवसाय विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गरौं भन्ने जनचेतनाको अभियान भएको उनको भनाइ छ ।
उनले विदेशमा कमाएको पैसा स्वदेशमा लगानी गर्दा आम्दानी पनि अपेक्षाकृत हासिल गरेका छन् । “विदेशमा गरिने जुनसुकै काम पनि आफ्नै देशमा संकोच नमानी गर्ने हो भने हामी आफ्नै देशमा केही गर्न सक्छौं,” उनले भने, “त्यसैले पैसा बोकेर होइन, अनुभव बोकेर नेपाल फर्कौं, नेपालमै छ अवसर ।” बिदेसिनेबित्तिकै घरघडेरी किन्नुपर्छ भन्ने आम नेपाली सोचभन्दा उनको सोच फरक रहेको छ । उनी कमाउन विदेश जाने युवालाई सुझाव दिन्छन्, ‘वैदेशिक भूमिमा जम्मा गरेको केही रकमलाई स्वदेशमै उत्पादकमूलक क्षेत्रमा लगानी गर्न सकियो भने आफ्नै घर परिवारसँग बस्दै स्वदेशमै रमाउन सकिन्छ ।’
भट्टराईको जस्तै सोच लिएर वैदेशिक रोजगारी त्यागेर नेपालमा नै लगानी गरेका केक हाउस बुटवलका सञ्चालक पूर्णचन्द्र न्यौपानेले नेपालीले विभिन्न उत्सवमा केक प्रयोग गर्न थालेपछि यसको व्यवसाय राम्रो हुने देखेर यसको व्यवसाय सुरु गरेका बताए । “आम्दानीको श्रोत पनि विदेशी भूमिमा भन्दा सन्तोषजनक नै छ,” उनले भने, “हामी सबैले वैदेशिक रोजगारीबाट केही न केही सीप सिकेका हुन्छौं । अब त्यसलाई नेपालमै उपयोग गर्न सबै युवा एकजुट हुनुपर्छ ।”
रोजगारीको सिलसिलामा यूएई गएर फर्केका धेरै युवाहरू अहिले उद्यमी बन्ने बाटोमा लागेका छन् । वैदेशिक रोजगारको समयमा विदेशी भूमिमा सिकेको सिप अनुभवलाई स्वदेशमै लगानी गर्दै युवाहरू व्यावसायिक रुपमा अगाडि बढेका छन् । देशमा स्थायी सरकार आएलगत्तै सबैको लगानीको चासो बढिराखेका बेला यी युवाहरू कोहीले केही वर्षदेखि व्यवसाय सुरु गरेका छन् भने कोहीले भर्खरै सुरु गरेका छन् ।
“विभिन्न अवसरहरू आफ्नै देशमा हुँदाहँुदै यस्ता अवसर चिन्न नसकेर हामी विदेशी भएका रहेछौं,” यूएईबाट फर्केका ओम प्रकाश भट्टराई नेपालमा धेरै अवसरहरू रहेकोले त्यसैलाई प्रयोग गर्न जानियो भने सफल हुने बताउँदै भन्छन्, “त्यो अवसर हामी बल्ल देख्यौं र बल्ल फर्कियौं । मानिस ४०–५ हजार कमाउनलाई धेरै लगानी फसाएर घरपरिवारलाई पीडा दिँदै वैदेशिक रोजगारमा नजाउन् भन्ने मेरोे सुझाव छ ।”
लामो समय वैदेशिक रोजगारमा समय बिताएरका युवाहरूले कृषि फार्म, होटल, रेस्टुरेन्ट, केक हाउसलगायतका व्यवसाय सञ्चालन गरेर आफूमात्रै स्वदेशमा रमाएका छैनन्, उक्त कम्पनीहरूमा केही युवाहरूलाई जागिर दिएर वैदेशिक रोजगारमा जानबाट रोकेका छन् ।
आफैं कामदार आफैं मालिकको नीति छ
ओमप्रकाश भट्टराई
प्रबन्धक, नेपाल आत्मनिर्भर कृषि उद्यम
हामी आम नेपाली युवाहरू आफ्नो देशमा असजिलो मान्ने चलन छ । तर विदेशमा अनेक यातना सहेर जुनसुकै काम पनि गर्न तयार हुन्छौं । त्यो पनि निम्न पारिश्रमिकमा । अझ खाडी देश जाने युवाहरूको प्रगति भनेको दश वर्ष बसेर एउटा घर बनाउनु हो ।
पछिल्लो पटक यूएईको आबुधाबी क्षेत्रको एउटा प्रतिष्ठित कम्पनी ब्राजिल फुडमा काम गर्ने अवसर जु¥यो । सेवा सुविधा जे होस्, समूहमा काम गर्ने शैली नै हाम्रो लागि एउटा सूत्र बन्यो । अन्ततः समूह मिलेर नेपालमै केही गर्नुपर्छ र विदेशिने युवाहरूको लागि उदाहरण बन्न सक्नुपर्छ भन्ने मान्यता राख्ने सोही कम्पनीमा कार्यरत हामी ६ जना साथीहरूको एउटा समूह तयार भयो । नेपालमा उद्यमी बन्न भरोसा होइन, आफ्नै इच्छाशक्तिले कर्म गर्नुपर्छ भनेर नेपाल फर्कियौं ।
आफूअनुकूल होइन, उत्पादन अनुकूल मिलाएर कृषि कर्म गरियो भने सफल हुनेमा शंका हुँदैन । त्यसैले हामी पाँच जिल्लाको साथीहरू मकवानपुरमा आफ्नो उद्यमस्थल बनायौं ।
हाल हेटौंडा उपमहानगरपालिका, मकवानपुरमा ३६ लाखको बिउ पुँजीमा ‘नेपाल आत्मनिर्भर कृषि उद्यम’ दर्ता भैसकेको छ । करिब एक बिगाह क्षेत्रफल जग्गा भाडामा लिएर थोपा सिँचाइ प्रविधिमा टमाटर टनेल, दुई हजार लियर्स कुखुरा र दश वटा उन्नत गाईपालन गर्दैछ । हाम्रो उद्यमको नीति भनेको आफैं मालिक आफैं कामदार हुनु हो ।
विदेशको सीप उपयोग गर्दैछु
उत्तम अधिकारी
सञ्चालक, कफी हाउस एन्ड रेस्टुरेन्ट, काठमाडौं
विदेशी भूमिको अनुभव, मेहनत, लगनशीलता, आत्मबल, जिम्मेवारी बोध, पारदर्शिता र पारस्परिक विश्वासलाई सँगसँगै लिएर हिँड्न सके सफलताले हामीलाई पछ्याउँछ । व्यक्तिगत जीवनको लागि रोजगारी वा व्यवसाय जे गरेपनि केही समय सामाजिक क्षेत्रको निम्ति छुट्याउन सके त्यसले व्यक्तित्व निर्माण र विकासमा सहयोग पु¥याउनुका साथै समाजप्रतिको उत्तरदायित्व र सामूहिक भावको विकास गराउँदै लैजान्छ । जसले गर्दा ढिलो–चाँडो राष्ट्र निर्माणमा योगदान गर्न सहज बाटो निर्माण हुन्छ ।
सबैभन्दा ठूलो धर्म त्यो रहेछ, जसले आफ्नो आम्दानीको केहि प्रतिशत दुःख, अप्ठेरोमा परेका आफ्ना देशका नागरिकका लागि छुट्याएर पीडालाई शक्तिमा रुपान्तरण गर्न प्रत्यक्ष भूमिका निर्वाह गर्दछ । म पनि करिब एक दशक यूएईमा सिकेको ज्ञान, सीप र अनुभवलाई आफ्नै देशमा लगानी गर्न विगत केही वर्षदेखि काठमाडौंको दरबारमार्गमा कफी हाउस एन्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएको छु । करिब ४० लाख पँुजीमा सुरु गरेको व्यवसायबाट अपेक्षाकृत मासिक आम्दानीसहित नौ जनालाई प्रत्यक्ष रोगारी मिलेको छ ।