वालिङ नगरपालिका प्रमुखको स्मार्ट सिटीको योजना

0
2855

काठमाडौँ — स्याङ्जाको वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँड कांग्रेसबाट निर्वाचित हुन् । २०५६ को स्थानीय निकाय निर्वाचनमा उपप्रमुख भइसकेका उनले यसपटक अघि सारेको स्मार्ट सिटीको नारा चुनाव जित्न सहयोगी रह्यो । प्रतिबद्धताअनुसार उनी यतिबेला लागिपरेका पनि छन् ।

आफ्नो कार्यकालमा वालिङलाई स्मार्ट सिटी बनाउने योजनामा आधाभन्दा बढी काम सक्ने लक्ष्य उनको छ । पहाडी घुम्ती भएर निस्किएको सिद्धार्थ राजमार्गसँगै बसेको नगरलाई व्यवस्थित बनाउन धेरै चुनौती छन् । राजमार्गबाट टाढाका बस्तीलाई सडक सञ्जाल र बजार क्षेत्रजस्तै सुविधा उपलब्ध गराउन नगरपालिकाले योजनाहरु अघि सारेर काम गरिरहेको छ । नगर प्रमुख खाँडसँग कान्तिपुरका लागि प्रतीक्षा काफ्लेले गरेको कुराकानी :
नारा स्मार्ट सिटी बनाउने भन्ने दिनुभयो । त्यसमा काम केभइरहेको छ ?
त्यसका लागि सर्वप्रथम सडक पूर्वाधार निर्माण नै आवश्यक छ । नयाँ ट्रयाक खोल्ने, भइरहेका सडकलाई मर्मत र स्तरोन्नति गर्ने अनि १४ वटै वडामा सडक पुर्‍याउने योजनामा काम भइरहेको छ । हाम्रो पहिलो प्राथमिकता सडकमै छ । सबै वडामा सडक सञ्जाल तयार भएपछि रिङरोडको प्लानिङ छ । योसँगै हाम्रो प्राथमिकता व्यवस्थित नगर पूर्वाधारका योजनामाथि काम गर्ने हो । सीमित बजेट, सीमित आन्तरिक स्रोतमा पनि हामीले स्मार्ट सिटीका लागि काम थालेको अवस्था छ ।
के सडक निर्माणले मात्र स्मार्ट सिटी बन्छ ? गाउँमा खनिएका वर्षामा ठप्प हुन्छन्, नगरसँग जोडिएका गाउँमा पूर्वाधारको अवस्था सुधार्नुपर्ने होइन ?
नगरका योजनालाई दुई भागमा छुट्याएका छौं । गत साल छुट्टिएको बजेट पूर्णरूपमा परिचालन हुनेगरी काम गर्न कर्मचारी र इन्जिनियर फिल्डमै खटाएका छौं । काम ढिलासुस्ती हुने भएकाले पनि आवश्यक निर्देशन दिएर कार्यान्वयन गर्न लगाएका छौं । साथै विवादित क्षेत्रमा विवाद सुल्झाउनका लागि आफंै खटिने गरेका छौं । नगर भित्रका १४ वटै वडामा ३ सय १४ टोल छन् । सडकमात्रै हाम्रो प्राथमिकता होइन, ती टोलमा खानेपानी पुर्‍याउने काम ४० प्रतिशत भइसकेको छ । अशुद्ध खानेपानी भएको ठाउँमा शुद्ध बनाउने योजनामा काम भइरहेको छ । आगामी तीन वर्षभित्र नगरभित्र पूर्णरूपमा शुद्ध खानेपानी पुर्‍याउने उदेश्यले ८० सिँचाइका योजना ल्याएका छौं । साना–ठूला गरी एकीकृत रूपमा प्लानिङ गर्दै अगाडि बढेका छौं । खास गरी सडकलाई नगरस्तरीय बनाउन बजारमा ७ मिटरको र वडास्तरीय ५ मिटरको सडक चौडा गर्ने कार्य भइरहेको छ । सडक ग्राभेल र पिच पनि गरेका छौं ।
स्मार्ट सिटीको अवधारणा सूचनाप्रविधिमैत्री पनि हुनुपर्ने होइन ?
नगरका १४ वटै वडामा इन्टरनेट जोडिसकेका छौं । दैनिक कार्य सम्पादनका लागि वडा कार्यालयमा सफ्टवेयर राख्ने काम भइरहेको छ । नगरको राजस्व उठाउने र जनतालाई पूर्णरूपमा सेवा दिने उद्देश्यले एकीकृत गर्न सफ्टवेयरराखेका हौं । सबै वडाका जरुरी स्थान छनोट गरेर सीसीक्यामेरा राख्ने योजना पनि छ । नगरको मोबाइल एप्सको विकास गर्ने, विद्युतीय सेवालाई अगाडि बढाउने लक्ष्यका साथ सेवाग्राही घरबाटै बसेर, देश वा विदेश रहेर पनि नगरको सेवा लिन सक्ने, कर र सेवा शुल्कबारे मोबाइलबाट तिर्न सक्ने व्यवस्था मिलाउन खोजेका छौं । स्मार्ट सिटीको इन्फ्रास्ट्रक्चरसँगै सफ्टवेयरमा काम गर्न हामी अभ्यस्त हुने लक्ष्य छ । सबै काम एकैपटकमा पूरा हँुदैन । केही छिटो काम हुने अल्पकालीन र केही दीर्घकालीन योजना छन् । हामी सुरुवातको चरणमा छौं ।
वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनमा उत्कृष्ट नगरको राष्ट्रिय पुरस्कार जितेको थियो । अब यहाँको फोहोरमैलालाई कसरी व्यवस्थापन भइरहेको छ ?
हामीले फोहोर संकलन केन्द्र बनाएका छाैं। घरघरबाट निस्कने फोहोर कुहिने र नकुहिने छुट्याउन लगाएर ल्याउने गर्छौं । व्यवस्थित गरिएको फोहोर बेच्न सफलभएका छौं । फोहोरले राम्रो आम्दानी भएको छ ।
फोहोर व्यवस्थापनको क्षेत्रमा हामीले नेपालमै उदाहरणीय कार्य गरेका छौं । अब फोहोरस्वरूप फालिने प्लास्टिक र बोतललाई पनि पुन: प्रयोग गर्न मिल्ने विधि अपनाउन मेसिन ल्याउदै छांै ।
बिदेसिएका युवालाई घरमै आम्दानीको स्रोत जुटाइदिने तपार्इंको चुनावी एजेन्डा थियो ? त्यो एजेन्डा कहाँ पुग्यो ? के सम्भव छ ?
सम्भव छ । तर, मेहनत गर्नुपर्छ । प्रत्येक घरमा उत्पादन गराउने । प्रत्येक घर–घरमा आम्दानीको राम्रो स्रोत छ । कृषि प्रविधिहरू प्रयोग गरी विकास गर्ने र कसरी उत्पादन गर्ने भन्ने तर्फ नगरले योजना बनाएर अघि बढ्नुपर्छ । यसबारे पनि हामीले केही सोचेका छौं । कृषि उत्पादन कसरी गर्ने, युवालाई कसरी टिकाउन सकिन्छ, प्रत्येक घरमा रोजगारी पुर्‍याउन नगरले के गर्नुपर्छ भनेर नगरबासी, विशेषज्ञहरूसँग छलफल पनि गरेका छौं । स्थानीय स्रोत–साधानको उपयोग गरेर आफ्नै गाउँघरमा गर्न सकिने रोजगारीका योजना ल्याउँछौं । प्रतिबद्धता हामीले बिर्सेका छैनौं तर व्यवस्थित र सबैका लागि लाभकारी योजना कार्यान्वयनमा आउन केही समय लाग्छ ।
जनप्रतिनिधिले जितेर आएपछिके गर्दै छन् ?
काम गर्न ऐन/नियम बनाउने सुरुवाती चरणबाट हामीले काम थालेका हौं । केही छिटो गर्न सकिने र केही दीर्घकालीन योजना अघि सारेर काम गरिरहेका छौं । आगामी तीन वर्षभित्र अफिसियल काम ९० प्रतिशत पेपरलेस रूपमा अगाडि बढ्ने छ । आईसीटीलाई प्रयोग गर्ने । डोनरहरूको माध्यमबाट पर्यटन र विकासलाई अगाडि बढाउने । नगरभित्र साइक्लिङको अन्तर्राष्ट्रिय प्रतियोगिता गराउने लक्ष्य छ ।
खेलकुदका लागि सबै वडामा मैदान बनाउने योजना छ । स्वास्थ्य केन्द्रलाई जग्गा थप गर्ने र निर्माण कार्य अगाडि बढाउने पनि योजना छ । चालु वर्षबाट नै अस्पताल सञ्चालन गर्ने र नागरिक सचेतनाका कार्यक्रम पनि योजनामा छन् । विकास र उत्पादनदेखि लिएर १६ वटा सफ्टवेयरहरूको विकास गर्नेछाैं। जनताको सेवा र सेवाग्राहीलाई इलोक्ट्रोनिक माध्यमबाट सेवा उपलब्ध गराउने लक्ष्य छ । यो वर्ष २० वटा ऐन, नियमावली र कार्यविधि बनाउँदै छांै । संविधानले प्रदान गरेको अनुसूची ८ अन्तर्गतका एकल अधिकारहरू ऐन र नियमावली र कार्यविधि बनाएर प्रयोग गर्न सकिने भएकाले बनाउन लागेका छौं । तीनवटा ऐन बनिसकेका छन् । साझा अधिकारका सूचीहरू छन् । प्रादेशिक सरकार र संघीय सरकारले ल्याउने ऐनहरूको प्रतीक्षामा छौं । सबै नियम हामीले बनाएर मात्रै हुँदैन । प्रदेश सरकारले पारित गरेका ऐन नियमको परिधिमा स्थानीय तहले अनुकूलको व्यवस्थापन गर्दै जान्छ ।
काम गर्न कति सहज छ ?
असहज छैन । सबैबाट सहयोग मिलेको छ । हामी निर्वाचित भएको ६ महिनाभित्र नै सबै दल र स्थानीयसँग छलफल गरेर नै योजना छनोट गरेका छौं । सबैलाई पोजेटिभ पाएको छु, सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्मार्ट सिटीकै योजनामा पनि इनोभेसन सेन्टर खोलिएको छ । जहाँ नगरवासी र विद्यार्थीले नयाँ–नयाँ कुरा आविष्कार गर्न सक्छन् । यसका लागि ड्रोन बनाएर नगरपालिकालाई हस्तान्तरण भइसकेको पनि छ । बाटोघाटो, विद्यालय निरीक्षण गर्न दैवी प्रकोपमा प्रयोग गर्न सहज हुनेछ । इलेक्ट्रिसिटीमा सेन्सर थपेर घरबाट भित्र पस्दा बल्ने र निस्कँदा निभ्ने बत्ती प्रयोगमा ल्याउने योजना छ । यस्तो गर्न सके विद्युत् बचत हुन्छ । खानेपानीको पाइप फुटेमा कहाँ कसरी फुट्यो भन्ने संकेत दिने प्रविधि विकास हुनेछ । खानेपानी शुद्ध बनाउन योजना थालेका छौं ।
-समाचार स्रोत: कान्तिपुर