स्याङ्जा डायरी: योजनाबद्ध काम गर्दै अदालत, सम्बन्ध-विच्छेद बढ्दै,नसर्ने रोगको प्रकोप बढ्यो

0
4257

फाल्गुन २५, २०७४ स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेलटारीका त्रिभुवन न्यौपाने इन्जिनियर पेशा त्यागेर कृषि व्यवसायमा लागेका छन् । भारतको पन्जाप टेक्निकल युर्निभरसिटीमा व्याचलर अफ कम्प्युटर एप्लिकेशन (बीसीए) अध्ययन गरेका उनी विगत ४ वर्षदेखि व्यवसायीक बाख्रापालन गरिरहेका छन् । भूमिका कृषि तथा पशुपालन फर्म दर्ता गरी व्यवसायीक बाख्रा पालन गरेका न्यौपानेले बोयर नामक अस्ट्ेरलियन बाख्रापालन गर्दै आएका छन् । फर्म सहित १५ लाख रुपैयाँ लगानी गरेर व्यवसाय गरेका उनी शारीरिक रुपमा अशक्त छन् । वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने बताउने उनले महिनामा भन्दा पनि लटमा आम्दानी हुने बताए । यो वर्ष पहिलो लटमा ६ लाख रुपैयाँ पारे उनले भने, ‘पछिल्लो लटमा साढे तिन लाख मात्र आम्दानी भयो ।

योजनाबद्ध काम गर्दै अदालत  

जिल्ला अदालत स्याङजाले कुल लगतको ७५ प्रतिशत फस्र्यौट गर्ने लक्ष्य राखेको छ । अदालतले फैसला कार्यान्वयन तर्फका निवेदनलाई समेत एक वर्ष कट्न नदिने लक्ष्य राखेको छ । वार्षिक कार्ययोजनाले तय गरे अनुसार हालसम्म कुल मुद्दाको ४७ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको अदालतले जनाएको छ । ९ सय १ थान मुद्दा लगत कायम हुने अनुमान लिएको अदालतले चालु वर्षको फागुन १४ गते सम्म २ सय ९३ थान मुद्दा मात्र दर्ता गरेको छ । गत फागुन १४ गते सम्म लगत संख्या ४ सय ७५ रहेको छ भने २ सय २६ थान मुद्दा फस्र्यौट भइसकेको श्रेस्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो । जिल्ला न्यायाधीश रमेशकान्त अधिकारी आर्थिक वर्षको सुरुवात महिनामा स्थानीय तह साथै प्रदेश र प्रतिनिधि सभा निर्वाचनका कारण मुद्दा फस्र्यौटमा असर पुगेको बताउनुभयो ।

नसर्ने रोगको प्रकोप बढ्यो 

पछिल्लो समय जिल्लामा सरुवा रोगको जोखिम कम भएपनि नसर्ने रोगको प्रकोप बढ्दै गएको छ । स्याङजामा नसर्ने रोगमा मुटु रोगी, क्यान्सर, मृगौला रोगी, हेड इन्जुरी र स्पाइनल इन्जुरी रोग बढी मात्रामा देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको अभिलेख अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुटुरोगीहरु ८५, क्यान्सरका बिरामी ८५, मिर्गौलाका ३४ जना बिरामी छन् । चालु वर्षको माघसम्म २ सय ४ जनालाई नसर्ने रोग देखा परेको छ । कार्यालयका तथ्यांक सहायक राजेन्द्र पराजुलीका अनुसार २ सय ४ जना सरकारले उपलब्ध गराइदिने अनुदानको लागि सिफारिस गरिएका मध्ये हुन् । चालु वर्षको पुष मसान्तसम्म १ लाख ७ हजार ७ सय ८० जना बिरामी परे । जसमा एक हजार ३५ जनालाई मात्र सर्ने रोग लागेको थियो भने बाँकी बिरामी नसर्ने रोगका थिए ।

विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद 

जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा बेद्धि भएको छ । । जिल्ला अदालतको तथ्याङ्का अनुसार सम्बन्ध विच्छेद गराउनेको संख्या धेरै छ । सम्बन्ध विच्छेद गराउनेमा पनि बिवाह गर्ने उमेर नै नपुगेका बालिका बढी छन् । चालु आर्थिक वर्ष सम्बन्ध विच्छेदका मात्र एक सय ३८ थान मुद्दा दर्ता भएका छन् । कुल दर्ता मुद्दा मध्ये सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदको रहेको जिल्ला अदालतको तथ्याङ्क छ । दर्ता भएका मध्ये एक सय १६ वटा सम्बन्ध विच्छेदका मुद्दा फैसला भइसकेको न्यायाधीश रमेशकान्त अधिकारीले बताउनुभयो । अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले सम्बन्ध विच्छेदका कुल मुद्दा मध्ये ५० प्रतिशत मेलमिलाप केन्द्रमा नै सहमति जुटेको बताउनुभयो ।
Source-प्रतीक्षा काफ्ले, Kantipur