स्याङ्जा — पढेलेखेकाले जागिर नै खानुपर्छ भन्ने सोचलाई चुनौती दिँदै एक युवक गाउँ फर्किएर चार वर्षदेखि बाख्रापालनमा रमाएका छन् । (इन्जिनियरिङ अध्ययन गरेका कालीगण्डकी गाउँपालिका ५ बेलटारीका ३० वर्षीय त्रिभुवन न्यौपानेले यस्तो गरेका हुन् ।
उनले २०६६ मा भारतको पञ्जाव टेक्निकल युर्निभर्सिटीबाट कम्प्युटर एप्लिकेसनमा स्नातक गरेका हुन् । पिताको जागिरका बेला उनको जन्म भारतमै भएको हो । त्यहाँ रिलाइन्स इन्डिया कम्पनीमा मार्केटिङ म्यानेजरको काम गर्दागर्दै उनी पुख्र्यौली थलो फर्किए ।
‘स्याङ्जापछिको हाम्रो दोस्रो घर इन्डियाको गोरखपुरमा थियो,’ उनी भन्छन्, ‘नेपालमा यस्तो ठाउँ छ, जहाँ हाम्रो जग्गा जमिन छ भन्ने सुनेपछि मलाई फर्किन रहर जागेको हो ।’ ०७० सालमा भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरी उनले व्यावसायिक बाख्रापालन थालेका हुन् ।
उनले अस्ट्ेरलियन बोयर जातका बाख्रापालन गर्दै आएका छन् । फार्मसहित १५ लाख रुपैयाँ लगानी गरेर उनले व्यवसाय थालेका हुन् । ७ बाख्राबाट फार्म थालेका उनीसँग यतिबेला एउटा ब्याडे बोका, ३० माउ बाख्रा र ३० पाठापाठी छन् । घाँस काट्ने क्रममा रूखबाट खसेपछि उनको ढाडमा समस्या आयो । यतिबेला उनलाई ढाडको समस्या छ ।
तीन दाजुभाइमध्ये जेठा त्रिभुवनले घरपरिवारको जिम्मेवारी धानेका छन् । ‘आमासहित आठ जनाको परिवार छ,’ उनले भने, ‘भाइहरू विदेश छन् । म घरमा छु । घरमा भएका सदस्यलाई यसैमा काम पुगेको छ । थप कामदारको रूपमा बाहिरी एकजना राखेका छांै ।’
गाउँमा बेलाबखत खडेरी पर्छ, खेतीबाली लगाए बाँदरको जगजगी छ । नेपाल फर्किएर कृषिबाहेक अन्य पेसा गरेर आम्दानी गर्ने बाटो नदेखेको उनले बताए । ‘पढेको छु भनेर घमण्ड पनि आएन । अन्तिममा बाख्रापालन गर्न लागें,’ उनले भने, ‘बाख्राको दानाका लागि चोकर भुस बजारबाट किन्न पाइन्छ, मकै, डाले घाँस र व्यावसायिक घाँस खेती आफ्नै छ ।’ उनको फर्मबाट पाठापाठी हातहातै बिक्री हुन्छन् । वार्षिक १० लाख रुपैयाँ हाराहारीको कारोबार हुने उनले बताए ।
‘यो वर्ष पहिलो लटमा ६ लाख रुपैयाँ पारें,’ उनले भने, ‘पछिल्लो लटमा साढे तीन लाख जति भएको थियो ।’ धेरै बचत गर्न नसके पनि खर्च कटाएर घरपरिवार पाल्न सफल भएको उनले बताए । बाख्रापालनप्रति सन्तुष्टि रहेको उनको भनाइ छ । ‘सामान्य रूपमा सोच्दा विदेश गएर गरिएको दु:ख अनुसार हुने आम्दानी घरमै बसेर गर्न सकिने रहेछ भन्ने पाठ सिकें,’ उनले भने ।
व्यावसायिक रूपमा कृषितर्फ आकर्षित हुने युवाहरूलाई सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘युवाहरूलाई गाउँमै रोक्न सकिएन भने दुई/चार वर्ष एउटा कुनै व्यवसाय गरेर छाड्ने गर्छन्’, उनले भने, ‘प्रोत्साहनका लागि पनि अनुदानको व्यवस्था गर्नुपर्छ ।’ उनलाई तीन वर्षअघि जिल्ला पशु सेवा कार्यालयले युवा स्वरोजगार अन्तर्गत एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । उनले घाँस टुक्राउने मेसिनमा पनि ८० प्रतिशत अनुदानपाएका छन् ।
-Kantipur