स्याङ्जा — पुतलीबजार–३ भाइटारीका बासिन्दा सौर्य ऊर्जाबाट लिफ्टिङ गरिएको खानेपानी घर आँगनमा पुग्दा हर्षित भएका छन् ।
लिफ्टिङ निर्माणका लागि स्थानीय मीना थापा, हिरन श्रेष्ठ, देवीसरा थापा र मोहन श्रेष्ठले जग्गा दिएपछि योजनाको काम अघि बढेको हो । ‘पानीको हाहाकार थियो,’ स्थानीय मीरा मल्ल भन्छिन्, ‘बाडखोलाको मुहानबाट पानी ल्याएर खाने गथ्र्यौं । पानीकै लागि धेरै समय जान्थ्यो ।’
खानेपानी तथा सिँचाइ योजना आरडब्लू नेपाल, आईडीई नेपाल र सप्रोस नेपालको प्राविधिक सहयोगमा निर्माण भएको हो । बाडखोला मुहानमा बनाइएको ट्यांकीमा आउने पानी २.४ किलोवाट सोलार ऊर्जाको माध्यमबाट २५ मिटर भर्टिकल उचाइमा बनाइएको अर्को ट्यांकीमा जम्म पारेपछि त्यहाँबाट वितरणको व्यवस्था मिलाइएको स्थानीय अनन्तकुमार श्रेष्ठले बताए । पहिलो र दोस्रो ट्यांकीको दूरी करिब दुई सय मिटर छ । ४० हजार लिटर क्षमताको ट्यांकीमा दुई इन्चको पाइपबाट पानी लगेर खानेपानी र सिँचाइको व्यवस्था गरिएको उपभोक्ता समिति अध्यक्ष केबी कार्कीले बताए । उनका अनुसार सौर्य ऊर्जाबाट लिफटिङ गरीट्यांकीमा दैनिक ३१ हजार ८७ लिटर पानी जम्मा हुन्छ ।
खानेपानी तथा सिँचाइ परियोजनाबाट भाइटारीका ६९ घरधुरीका ४ सय ४४ जना स्थानीय लाभान्वित भएका छन् । २५.६ रोपनी क्षेत्रफलमा निर्मित परियोजना ३० लाख १९ हजार ८ सय ८३ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।