स्याङ्जामा जन्मेका सन्दीप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली: यस्तो छ खेल यात्रा

0
17225

काठमाडौँ:स्याङ्जामा जन्मेका सन्दिप लामिछने, १७ वर्षीय युवा स्पिनर इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका छन् ।

आईपीएल अक्सनको दोस्रो दिन उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । अक्सनको २७६ औं स्थानमा रहेका उनको न्यूनतम् मूल्य पनि २० लाख भारु नै तोकिएको थियो ।

लेग ब्रेक स्पिनर सन्दीपलाई दिल्ली किनेसँगै नेपाली खेलाडीको आईपीएल खेल्ने सपना पनि पुरा हुने भएको छ । यसअघि पूर्वकप्तान शक्ति गौचनले राजस्थान रोयल्समा ट्रायल दिएका थिए । तर उनले त्यो बेला आईपीएल खेल्ने सपना पुरा हुन सकेन ।

बैङलोरमा जारी अक्सनको दोस्रो दिन उनलाई दिल्लीले किनेपछि अब उनले भारतका चर्चित खेलाडी गौतम गम्भीरको कप्तानीमा खेल्नेछन् । गम्भीर यसअघि कोलकाता नाइट राइडर्सका कप्तान थिए । उनको कप्तानीमा कोलकाताले आईपीएलको उपाधि पनि जितिसकेको छ ।

सन्दीपका प्रशिक्षक अस्ट्रेलियाका विश्वविख्यात खेलाडी खेलाडी रिकी पोन्टिङ रहनेछन् । लेग स्पिनर सन्दीपले दिल्लीको टिमबाट आईपीलको प्लेइङ-११ मा पर्ने सम्भावना धेरै छ ।

१७ वर्षीय सन्दीपलाई दिल्ली डेयर डेभिल्सले आफ्नो आधिकारिक ट्विट ह्यान्डलमा ट्वीट गर्दै भनेको छ, ‘पहिलो खेलाडीका रुपमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई टिममा स्वागत गर्न पाउँदा हामी खुशी भएका छौँ ।’

यस्तो छ खेल यात्रा

१७ वर्षीय सन्दीपले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको नामिबियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । सिनियर टोलीमा रहँदै नौ खेल खेलेका सन्दीपले जम्मा १२ विकेट लिएका छन ।

दुइ वर्ष अघि बंगलादेशमा सम्पन् यु-१९ विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपलाई अस्ट्रेलियाका चर्चित स्पिनर सेर्न वानसँग तुलना गरिएको थियो । उनले आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । प्रतियोगितामा उनी कुल १४ विकेट लिँदै सर्वाधिक विकेट झार्ने खेलाडीको सुचीमा दोस्रो स्थानमा थिए ।

सन्दीपले हङकङमा अस्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्कसँग एउटै टिमबाट खेल्ने अवसर पाएका थिए । सन्दीपको खेलबाट प्रभावित भएर क्लार्कले उनलाई अस्ट्रेलियास्थित आफ्नो एकेडेमीमा प्रशिक्षण पनि दिए । सेप्टेम्बर २०१६ मा उनलाई क्लार्कले सिड्नीस्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्ने अवसर मिलाइदिएका थिए ।

आईपीएलको अक्सन सुचीमा सन्दीप पनि अटाएपछि क्लार्कले ट्विट गर्दै प्रतिभावान र राम्रो युवा खेलाडी भएकाले सन्दीपलाई खरिद गर्न आईपीएलका फ्रेन्चाइजिज टिमहरुलाई आग्रह गरेका थिए ।

आईपीएल खेल्ने अवसर पाएका सन्दीप अहिले अहिले विश्व क्रिकेट लिग डिभिजन-२ को तयारीका लागि युएइमा प्रशिक्षणमा रहेका छन् ।