स्याङ्जा:क्षेत्र नम्बर २ मा गोपालमानसँग बदला लिने पद्‍माको दाउ

0
2313

आइतबार, १७ मङि्सर २०७४, स्याङ्जा : क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य पदमा अर्याल चुनावी प्रतिस्पर्धामा छन्। तत्कालीन क्षेत्र नम्बर २ बाट पटक-पटक निर्वाचित श्रेष्ठ यसपटक पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्।

गोपालमान श्रेष्ठ २०४८ र २०५६ सालको आमनिर्वाचन अनि २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए। दोस्रो संविधानसभामा भने उनी समानुपातिक सदस्य बनेका थिए।आँधी खोला र कालिगण्डकीमा पुल निर्माण, नाउँडाँडा-कार्कीनेटा, कृषि क्याम्पस बनाउने योजनालगायत कामका कारण जिल्लावासीले आफूलाई विकासप्रेमी नेताका रूपमा चिनेको उनी बताउँछन्। उनले आँधी खोला उच्च बाँध,क्षतिपूर्तिसहित सिद्धार्थ राजमार्ग विस्तार, लुम्बिनी-पोखरा सुरक्षित दु्रतमार्गलगायत विकासका एजेन्डा प्राथमिकतामा रहेको जनाउँदै भोट मागेका छन्।

अर्याल पनि आफू निर्वाचित हुने दाबी गर्छिन्। वाम गठबन्धनका कारण आफ्नो विजय सुनिश्चित भएको उनी बताउँछिन्। यसपटक आफूलाई अवसर दिन आग्रह गर्दै उनले ‘समृद्ध स्याङ्जा’लाई चुनावी एजेन्डा बनाएकी छन्। २०५६ सालको आमनिर्वाचनमा पनि अर्याल र  श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। त्यस बेलाको पराजयको बदला लिने रणनीतिमा देखिएकी छन् उनी। कांग्रेस बाहुल्य मानिएको क्षेत्रमा फेरि श्रेष्ठ र अर्यालबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभामा चार क्षेत्र रहेको स्याङ्जामा वाम गठबन्धनसहित अन्य नौ दल चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसले क्षेत्र नम्बर २ को प्रदेशसभातर्फ १ मा विष्णुप्रसाद पौडेल र २ मा भागवतप्रकाश मल्ललाई उम्मेदवार बनाएको छ। वाम गठबन्धनबाट क्रमशः मोहन रेग्मी ((एमाले) र सूर्यप्रसाद गैरे ‘पारस’ (माओवादी केन्द्र) उम्मेदवार छन्।

माओवादी केन्द्रको पकड नदेखिएको स्याङ्जामा संविधानसभाका दुवै निर्वाचनमा कांग्रेसले दुई÷दुई र एमाले एक÷एक सिटमा जितेका थिए। यसपटक क्षेत्र नम्बर १ मा एक लाख आठ हजार ६ सय ८९ र २ मा एक लाख एक हजार तीन सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।-भवानी अधिकारी। AnnaPurna Post