६ पटक चुनाव लड्दा पाँच पटक जमानत नै जफत, भन्छन् संघीयताको खारेजीको मुद्धाका लागि मेरो उम्मेदवारी

0
1886

स्याङ्जा, मंसिर १५ –राष्ट्रिय जनमोर्चा स्याङजाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे ६ पटक चुनाव लडिसक्नु भयो । यस पटकको चुनावमा पनि उहाँले प्रतिनिधिसभाको लागि स्याङजा क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएको छ ।

चुनावमा उम्मेदवार बन्दा धरौटी एक पटकभन्दा जोगिन सकेको छैन तर पनि आफ्नो मुद्दाको लागि मात्रै भए पनि उहाँ उम्मेदवार बन्न छाड्नुहुन्न ।

बहुदलीय प्रजातन्त्रको स्थापना पश्चात २०४९ मा भएको चुनावमा तत्कालीन तीन दोबाटे गाविसको अध्यक्षमा गैह्रे नेपाली कांग्रेससँग १ मतले पराजित हुनु भएको थियो । जसमा कांग्रेसका उम्मेदवारले ३ सय २९, गैह्रेले ३ सय २८ र एमालेका उम्मेदवारले ३ सय २५ प्राप्त गरेका थिए ।

जसमा एमाले समेत पछि परको थियो । तत्कालीन तीनदोबाटे गाविस वडा नम्बर ४ र हालको वालिङ नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा गैह्रमा ६७ वर्षको उमेरमा पनि उत्तिकै युवापन देखिन्छ । अहिले पनि उहाँका जोसिला भाषण सुन्न सकिन्छ ।

२०५७ सालदेखि निरन्तर रुपमा जनमोर्चाको जिल्ला अध्यक्ष रहदै आएका गैह्रे जिल्लाका प्राय धेरै कार्यक्रममा पुग्ने गर्नुहुन्छ ।

२०६४ मा स्याङजा—३, बाट र २०७० मा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यका लागि लडेका गैह्रेको जमानत जोगिन सकेन त्यसो त संघीय संरचनामा देश गइसकेपछि पहिलो पटक भएको स्थानीय तहको वालिङ नगरपालिकाको मेयरमा समेत उम्मेदवारी दिएका गैह्रेले १ सय १४ मत ल्याउनु भएको थियो ।

२०२४ सालमा पाल्पामा अध्ययन गर्दा नै गण्डकी विद्यार्थी परिषदवाट राजनैतिक यात्रा सुरु गरेका गैह्रेले तत्कालीन मालेबाट सक्रिय राजनीतिमा लाग्नु भएको थियो ।

माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेसँगै आफूहरु भण्डाफोरमा लागेको स्मरण गर्दै गैह्रेले भण्डाफोरमा लागेकै कारण आफूलाई ३ दिन कब्जामा राखेको बताउनुभयो । तत्कालीन अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेसमेत भण्डाफोरवाट डराएर भागेको गैहैको दाबी छ ।

पार्टीको अस्तित्वको लागि मात्रै भए पनि आफूहरुले उम्मेदवारी दिने गरेको गैह्रेको भनाई छ । संघीयताको खारेजी आफूहरुको एक मात्र निरन्तरको नारा भएको बताउँदै गैह्रेले नेपालमा संघीयता लागु हुनै नसक्ने बताउनुहुन्छ ।

तपार्इँको पार्टीको नारामा जनता किन सहमत भएनन त भन्ने प्रश्नमा गैह्रेले नेपालका ठूला दलहरुले जनताको बुद्धी भुट्ने गरेको आरोप लगाउनु भयो । उहाँले अब जनताको चेतनास्तर परिवर्तन भएको भन्दै बिस्तारै ठूला दलको छलकपट जनताले थाहा पाउने बताउनुभयो ।

देशका विभिन्न क्षेत्रमा राष्ट्रिय जनमोर्चा वाम गठवन्धनमा आवद्ध भए पनि स्याङ्जामा सहकार्य गरेको छैन । अध्यक्ष गैह्रे माओवादी र एमालेले कम्युनिष्टको विचारधारा छाडिसकेको बताउँदै उनीहरुसँग सहकार्य गर्नु आवश्यक नरहेको स्पष्ट पार्नु भयो ।

राजनीति बाहेक सुन्तला खेतीमासमेत सक्रिय गैह्रेले ३० रोपनीमा सुन्तला लगाउनु भएको छ । जसको गोडमेल गैह्रेले एक्लै फूर्सदको समयमा गर्नुहुन्छ । गाउँको विकासमा समेत सक्रिय गैहे्रलाई गाउँमा सम्मानित व्यक्तिको रुपमा लिने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

राष्ट्रिय जनमोर्चाले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको लागि ३ जनालाई उम्मेदवार बनाएको छ । जसमा स्याङ्जा क्षेत्र नम्बर १ बाट ज्ञानबहादुर हमाल र क्षेत्र नम्बर २ ‘क’ बाट मेनुका सार्कीलाई उम्मेदवार बनाएको छ ।

स्रोत:राधाकृष्ण डुम्रे/उज्यालो ।