कुन पार्टीको गीत कसले गाए : प्रचण्डको चुनावी गीतमा बद्री पंगेनीको स्वर

0
1986

काठमाडौं : देश निर्वाचनमय बन्दै गएका बेला गायक गायिकाहरू पनि आफ्ना नेता र आफू सम्बद्ध राजनीतिक दललाई जिताउन कम्मर कसेर लागेका छन् । सबै राजनीतिक दलले आफ्नो दलमा आबद्ध कलाकार प्रयोग गरेर निर्वाचन प्रचारका लागि विभिन्न भाषामा गीतसंगीत तयार पारेका छन् । केही दलले त व्यावसायिक कलाकारलाई प्रयोग गरेर पनि प्रचार गीत बनाएका छन् ।

नेताका भाषणभन्दा गीतसंगीतले मतदाता तान्न सजिलो हुने भएकाले राजनीतिक दलहरूले प्रचारप्रसारका लागि कलाकार प्रयोग गर्ने गरेका हुन् । गीतसंगीत उत्पादनमा केही खर्च हुने भए पनि दलहरूले भने आफ्ना कलाकारले पार्टीलाई निःशुल्क सहयोग गरेको बताउने गरेका छन् ।

‘देशका लागि ज्यान दिने
जनतालाई ध्यान दिने
प्रचण्ड जिताउन लागिपरौं है
लोभलालचमा नफसौं
दोधारमा नबसौं
वामपन्थी मिलेर केही गरौं है
अघि बढ प्रचण्ड जनता साथमा छ
हाम्रो देशको भविष्य तिम्रै हातमा छ ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका लागि लोकगायक बद्री पंगेनीले तयार पारेको चुनावी गीत हो यो । चितवन-३ बाट चुनाव लड्न लागेका दाहालका लागि तयार भएको गीतमा शब्द, संगीत र स्वर बद्री पंगेनीकै छ । स्थानीय तहको निर्वाचनमा ‘सही पनि एमाले मै पनि एमाले’ भन्दै गीत गाएका बद्रीले यसपालि माओवादी केन्द्रका दाहालका लागि गीत गाएका छन् । पार्टीले नै वाम गठबन्धन गरिसकेपछि कलाकारले त गाउने नै भए । यो गठबन्धन बद्रीले पहिले नै सोचेको विषय हो । पहिला पनि दाहालका कार्यक्रममा गएर गीत गाएका थिए । भन्छन्, ‘म सधैं दुईवटा पार्टी मात्र हुनुपर्छ भन्ने मान्यता राख्छु, त्यो पूरा भएको छ ।’ भविष्यमा नेपालमा दुईवटा मात्र पार्टी हुन्छन् भन्ने विश्वास उनलाई पहिले नै थियो । दाहालप्रतिको उनको विश्वास पनि पुरानै रहेछ ।


एमालेका लागि गीत गाउँदा माओवादी पक्षधरले आफूलाई गरेको टिप्पणीलाई सामान्य रूपमा लिएका थिए उनले । भन्छन्, ‘राजनीतिमा यस्तो भइरहन्छ ।’ दाहालका छोरा प्रकाशसँग बद्रीको राम्रो दोस्ती छ । सधैं एमालेका लागि गीत गाउने बद्रीले कसको प्रस्तावमा यो गीत गाए भनेर खुलाउनच भने चाहेनन् । ‘कहीँ कतै साथीहरूको अनुरोध पनि हुनसक्छ’, प्रकाशतर्फ इंगित गर्दै उनले भने । सुमन पण्डितको शब्द, ज्योतिप्रकाश विकको संगीत, मुना थापा, दीप सागर, बालकृष्ण खनाल र बेली मायाको स्वरमा नारायणकाजी श्रेष्ठको चुनावी गीत तयार भएको छ । नेपाल ललितकला मञ्चका सचिवालय सदस्य ज्योतिप्रकाशले माओवादी केन्द्रका नारायणकाजीका लागि संगीत दिँदा खुसी महसुस गरे । नेपालमा कम्युनिस्टको एकताले कलाकारमा खुसी छाएको बताउँछन् उनी । ‘कम्युनिस्ट भए पनि पहिले माओवादीले उग्रवामपन्थी व्यवहार गर्दा गाली गर्नु परेको थियो । अहिले बहुदलीय जनवादसँग नजिक भएर, एमालेको अवधारणालाई आत्मसात् गरेर मिल्न आउँदा पुराना तिक्तता बिर्सिएको छु’, उनले भने ।

कांग्रेसका लागि राधिका हमाल, चोलेन्द्र पौडेल, सुनील थापा, प्रकाश कटुवाल, उमा श्रेष्ठ लगायतका कलाकारले चुनावी गीत गाएका छन् । केएको शब्द संगीत, प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वरमा तयार भएको गीतले भन्छ :
‘कांग्रेसलाई नै जिताऊँ अब सारा जनता जागी
राष्ट्रियता स्वाभिमान समाजवादका लागि
बनाउनलाई नयाँ नेपाल बचाउनलाई देश
हामी सारा जनताको ढुकढुकी नेपाली कांग्रेस’

कांग्रेसका लागि ‘नाइलनको सारीमा’, ‘कुटुमा कुटु’ गीतको लयमा केही प्यारोडी गीतहरू पनि बनेका छन् । चुनावी गीत बनाउन पार्टीले भन्दा बढी कलाकारले रुचि देखाएको नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए । कलाकारको पहिचानको व्यवस्था गर्न पार्टीले कसरत गरिरहेको जानकारी उनले दिए । उनले पार्टीले खर्च गरेर गीत निकाल्न सक्ने अवस्था नरहेको बताउँदै कलाकारलाई पार्टीसँग नजिक बनाउन सहजीकरण गर्ने काम मात्र संघले गरेको जानकारी दिए । संघले कलाकारलाई कार्यक्रममा लैजाने र बस्ने व्यवस्था मात्र गरेको उनले बताए ।

प्रायः निर्वाचन प्रचारका गीतमा लोकगायक गायिकाको संलग्नता बढी देखिन्छ । मेला महोत्सव हुने समय भएकाले यति बेला लोक कलाकारको माग बढी छ । गाउँघरमा लोकगीत नै बढी रुचाइन्छ । अधिकांश भोटर गाउँकै छन् । गाउँबाट आएका कलाकार भएकाले लोकगायक गायिका राजनीतिमा बढी सक्रिय भएको उनको मूल्यांकन छ । भन्छन्, ‘राजनीतिमा आधुनिक गीत गाउनेहरूभन्दा लोक कलाकार धेरै सजग छन् ।’ आधुनिक गीत धेरै खर्चिलो हुन्छ । त्यसैले पनि लोकगीत नै बढी बन्छन् । प्रहसनका कलाकार पनि चुनावी माहोलमा बढी व्यस्त हुन्छन् । पछिल्लो समयमा केही पप र आधुनिक गायक गायिकाले पनि चुनावी अभियानमा रुचि देखाएको जानकारी तीर्थले दिए ।

लालीगुराँस फुलेझैं वनभरि
ईश्वर पोखरेल जनताको मनभरि
अमृत खाती र मधु क्षेत्रीले गाएको यो गीत लिएर एमाले नेता ईश्वर पोखरेल अहिले जनताको मन जित्न घरदैलोमा पुग्न थालेका छन्।

केही स्थापित र केही स्थानीय कलाकार प्रयोग गरेर एमालेले पार्टी तथा उम्मेदवारको प्रचारका लागि विभिन्न गीत तयार गरेको छ। एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापा भन्छन्, ‘नेताका भाषणभन्दा पनि कलाकारका गीतसंगीतले जनताको ध्यान तानेको छ। आमसभामा कलाकारले गाएका गीतमा मतदाताहरू छमछमी नाच्ने गरेका छन्। गीत पनि नचाउने खालका नै तयार भएका छन्। प्यूठानमा भएको एउटा आमसभामा म आफैं नाचेको भिडियो युट्युबमा ५० हजारभन्दा बढी हेरिएको छ। केही गीतको भिडियो १३-१४ लाख पटकसम्म हेरिएको छ।’

‘तोहनी बा एमाले, हमनी बा एमाले’ बोलको बद्री पंगेनी र प्रिया भण्डारीले गाएको भोजपुरी गीत अहिले तराईका जिल्लाहरूमा घन्किरहेको छ। एमालेले ५० भन्दा बढी गीत प्रचारका लागि तयार गरेको छ। गीतहरू पार्टीभन्दा पनि नेताकेन्द्रित छन्। पूर्वदेखि पश्चिमसम्मका स्थानीय भाषामा गीतहरू अनुवाद गरी गाइएको थापाले बताए।

आयो एमाले आयो रातो सूर्य लिएर
न्यानो हजुरको माया, जिताउनोस् हामीलाई दिएर।
बैकुण्ठ महतले गाएको यो गीतसँगै राजु परियार, पुरुषोत्तम न्यौपाने कमल सौराग, बाबुराम पन्थी, पूर्णकला बीसी लगायतका गायकगायिकाले पनि एमालेका निर्वाचन गीत गाएका छन्। ‘यो पार्टीका लागि हाम्रो निःशुल्क र स्वतःस्फूर्त सहयोग हो’, गायक परियार भन्छन्। ‘टीभीसी, म्युजिक भिडियोलगायत निर्माण गर्न प्राविधिक रूपमा केही खर्च भए पनि कलाकारले गाएका गीतसंगीतमा पार्टीले कुनै खर्च गरेको छैन’, प्रचार विभाग उपप्रमुख थापाले भने।

यसैगरी एमाले सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले पनि ठूला आमसभामा सहभागी हुन कलाकार टोली गठन गरेको छ। कला साहित्य क्षेत्रका विभिन्न व्यक्तित्व सहभागी भएको टोलीमा चलचित्र क्षेत्रबाट केशव भट्टराई, लय संग्रौला, उत्तम केसी, सुशील पोखरेललगायत संलग्न छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पनि विभिन्न स्थानीय कलाकार प्रयोग गरेर स्थानीय भाषामा नै गीत तयार गरेको छ। ‘हामीले स्थानीय कलाकार र भाषालाई महत्व दिएका छौं’, पार्टी प्रवक्ता प्रदीपकुमार उदय भन्छन्।

-Annapurna Post