केन्द्र र प्रदेश निर्वाचन: कुन चरणमा कहाँ चुनाव ? स्याङ्जामा मङ्सिर २१ मा।

0
3008

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने निर्णय लिएको छ । सरकारले दुवै तह निर्वाचन सँगसँगै दुई चरणमा गर्ने भने पनि कुन जिल्लालाई कुन चरणमा राख्ने निर्णय गरेको थिएन ।

उक्त अधिकार आयोगलाई दिएको थियो । आयोग प्रवक्ता सहसचिव नवराज ढकालले पहिलो चरणमा मंसिर १० गते हिमाली र उच्च पहाडी जिल्लामा चुनाव हुने र दोस्रो चरणको मंसिर २१ मा पहाडी तथा तराईका जिल्लामा निर्वाचन हुने जानकारी दिए । आयोगको बिहीबार बसेको बैठकले भौगोलिक अवस्थालाई ध्यानमा राखेर उक्त निर्णय लिएको उनले बताए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि घोषित मंसिर १० गते एकै चरणमा निर्वाचन गर्ने निणर्यमाथि पुनर्विचार गर्दै दुई चरणमा गर्ने निर्णय लिएको हो । भदौ ५ को मन्त्रिपरिषद् बैठकले एकै चरणमा निर्वाचन गराउने निर्णय गरेको थियो । तर आयोगले दुई चरणमा गर्नुपर्ने सुझाएपछि सरकारले त्यहीअनुसार अर्काे निर्णय गरेको हो । चिसो बढेसँगै हिमाली र उच्च पहाडी भेगमा हिउँ पर्ने भएकाले ती जिल्लालाई पहिलो चरणमा राखिएको छ । दुई चरणमा निर्वाचन गर्दा प्रदेश २ बाहेक सबै प्रदेशभित्रका जिल्लाहरू पहिलो र दोस्रो चरणमा बाँडिएका छन् ।

प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा पहिलो चरणमा निर्वाचन हुने भएको छ । त्यस्तै, प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा, प्रदेश ६ को रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने आयोगले जनाएको छ ।

दोस्रो चरणमा निर्वाचन हुनेमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का ८ वटै जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् । त्यस्तै, प्रदेश ३ को सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश ४ को नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश ५ को नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दियामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुनेछ । प्रदेश ६ को सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ को कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमै निर्वाचन हुने आयोग प्रवक्ता ढकालले जानकारी दिए ।

‘मुख्य रूपमा मौसम प्रतिकूलतालाई ध्यानमा राखेर पहिलो र दोस्रो चरणका लागि जिल्ला छुट्याइएको हो,’ उनले भने, ‘त्यसो गर्दा एउटै प्रदेशका जिल्लाहरू फरक–फरक चरणमा पर्न गएका हुन् ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन आयोगले पाइसकेको छैन । स्थानीय तह निर्वाचन ऐनमा भने चरणबद्ध निर्वाचनको मिति तोक्दा सामान्यत: एउटा प्रदेशको सबै स्थानीय तहका सदस्यको निर्वाचन एकै चरणमा हुने गरी तोक्नुपर्ने व्यवस्था छ ।

‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुन प्राप्त भइसकेको छैन,’ ढकालले भने, ‘स्थानीय तह निर्वाचन ऐनमा पनि सामान्यत: भनिएकाले हिउँ पर्न सक्ने जिल्लालाई पहिलो चरणमा राखिएको हो ।’ निर्वाचन क्षेत्र निर्धारणको प्रतिवेदन पाइसकेको आयोगले बिहीबार पनि सरकारलाई दुईवटै कानुन उपलब्ध गराउन ताकेता गरेको छ । ७ वटै प्रदेशसभा र केन्द्रमा प्रतिनिधिसभाका सदस्य चुन्न एकै समयमा तर दुई चरणमा निर्वाचन हुन लागेको हो । एक मतदाताले प्रदेश र प्रतिनिधिसभा दुवैका लागि एकै दिन मतदान गर्ने भएका हुन् । आयोग प्रवक्ता ढकालका अनुसार एक मतदाताले दुईवटा मतपत्र र दुईवटा मतपेटिका प्रयोग गर्ने गरी चुनावी व्यवस्थापन तयारी भइरहेको छ ।

-कान्तिपुर बाट