स्याङ्जा, कात्तिक १६ आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि स्याङ्जामा विभिन्न राजनैतिक दलका ४१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ठूला दुई दल कांग्रेस र एमालेका उम्मेदवार बाजागाजा, र्यालीसहित उम्मेदवारी दर्ता गराए पनि साना दलका उम्मेदवारले भने सुटुक्क उम्मेदवारी दर्ता गराए ।
तामझाम र्यालीसहित मुख्य निर्वाचन कार्यालय पुगेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्याङ्जा क्षेत्र नं. २ बाट प्रनिनिधिसभाका लागि उम्मेदवार दर्ता गराउनुभयो । श्रेष्ठलाई चुनावी मैदानमा कडा टक्कर दिन एमालेबाट केन्द्रीय सदस्य पद्यमा अर्यालले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
स्याङ्जा क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ का लागि कांग्रेसबाट विष्णुप्रसाद पौडेल र एमालेबाट मोहन रेग्मीले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ को ‘ख’ मा कांग्रेसबाट भागवत प्रकाश मल्ल ‘प्रकाश’ र वाम गठबन्धनका तर्फबाट माओवादीका सूर्य प्रसाद गैह्रे ‘पारश’ ले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसबाट राजु थापा र एमालेबाट नारायण मरासिनीले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ को ‘क’ मा कांग्रेसबाट कमलप्रसाद पंगेनी तथा वाम गठबन्धनबाट माओवादीका दिपक थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नम्बर २ को ‘ख’ मा कांग्रेसबाट तुलसी गिरी र एमालेबाट मिन प्रसाद गुरुङ्ले उम्मेदवारी दर्ता गरेका छन् । थापा र मरासिनी २०७० को दोस्रो संविधानसभा सदस्यमा प्रतिस्पर्धा गर्दा थापा विजयी भएका थिए ।
ठूला दल कांग्रेस र एमालेसहित स्याङ्जा क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ ८, प्रदेश ‘क’ मा ६ र ‘ख’ मा ७ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं. २ को प्रतिनिधिसभाका लागि ७, प्रदेश ‘क’ मा ६ र ‘ख’ मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्याङ्जा क्षेत्र नं. १ मा १ लाख ८ हजार ६ सय ८९ सोही क्षेत्रको प्रदेश ‘क’ मा ५३ हजार ३ सय ४८ र ‘ख’ मा ५५ हजार ३ सय ४१ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं. २ मा १ लाख १ हजार ३ सय ४९ मतदाता छन् भने सोही क्षेत्रको प्रदेश ‘क’ मा ४७ हजार २ सय ४ र प्रदेश ‘ख’ मा ५४ हजार १ सय ४५ मतदाता रहेका छन् ।-
स्रोत:राधाकृष्ण डुम्रे/उज्यालो ।