जिल्लाको भीरकोट नगरपालिका–५ स्थित स्वरेकमा अन्र्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । बाबु एड्भेन्चर क्लबको आयोजनामा कार्तिक १५ देखि २० गते सम्म प्रथम खुल्ला अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको हो । नेपालका हवाई खेलकुदको सम्भावना र अवसरका बारे विश्वव्यापी रुपमा चिनारी गराउने, नेपालका प्याराग्लाइडिङ पाईलटको क्षमता विकास गराउने, हवाई पर्यटनका माध्यमबाट पर्यटन उद्योगमा टेवा पुर्याउने, जिल्ला भित्रका पर्यटकीय सम्भावनालाई विश्वस्तर सम्म पुर्याउने मुख्य उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक बाबु एड्भेन्चर क्लबले जनाएको छ ।
कार्यक्रम संयोजक सानोबाबु सुनुवारले चापाकोट, गह्रौसुर, सिर्सेकोट, मिर्मि, विरुवा, हुनिकोट, सत्तौ, खिलुङ, सिरुवारी लगायतलाई समेटने गरी प्रतियोगिता आयोजना गरिएको हो । ८५ लाख आम्दानी र ८५ लाख नै खर्च हुने अनुमान राखेको आयोजकले आम्दानीको स्रोत भने खुलाएको छैन । बेलायत, अमेरिका, इण्डिया, नेपाल, अष्ट्रेलिया, चीन, स्वीज्यारलेण्ड लगायतका २० भन्दा बढी देशका ३ सय जना प्याराग्लाइडिङ पाईलटको उपस्थित रहने सुनुवारले बताउनुभयो । -Kantipur