पहिरोले स्याङ्जाका अधिकांश ग्रामीण सडक अवरुद्ध

0
2989

भाद्र २३, २०७४-नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी जाने ग्रामीण सडक खण्ड पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ ।

 

सिरुबारी जाने सवारी साधन पहिरोका कारण वारपार गर्न नसक्ने भएपछि कतिपय पर्यटकहरु बीचबाटोबाट नै फर्कन बाध्य छन् । पानी पर्दा हिलो र पहिरो, घामलाग्दा धुलोले सास्ती भोग्नुपर्ने यो ग्रामीण सडकको स्तरोन्नती हुन नसक्दा सास्ती भोग्नुपरेको स्थानीयहरु बताउँछन् । ‘वर्षाको बेला घर जान मन नै लाग्दैन’ आँधीखोला गाउँपालिका निवासी शिव ढकालले भने, ‘यतिबेला घर जाने बाटो हिँडिसक्नु छैन । तीन घण्टाको बाटो भए पनि पुरै दिन बित्दछ । गाउँका खहरे खोलाले बाटो हिँडिसक्नु हुँदैन । जीप समेत तर्न सक्दैनन् गाह्रो हुन्छ कसरी जानु ।’

पुतलीबजार नगरपालिकास्थित घुम्तीबजारबाट दुई जिल्ला जोड्ने ग्रामीण सडकको अवस्था पनि उस्तै छ । वर्षेनी छुटिने यो सडकको बजेट सदुपयोग नहुँदा यात्रुहरु सास्ती भोग्न बाध्य छन् । घुम्ती–चिसापानी–दुलेगौडा सडक खण्ड राजनीतिको किचलोले पनि कहिलै स्तरोन्नति गराउन नसकिएको सरोकारवाला निकायको भनाइ छ । ‘यो सडकको स्तरोन्नती कहिले भएन’हरिनाश गाउँपालिका निवासी सोमनाथ लम्साल भन्छन्, ‘नेताहरुको व्यक्तिगत स्वार्थको कारण जनताले जोखिम मोल्दै यात्रु गर्नुपर्छ । साँघुरो र अपार घुम्ती भएको यो ग्रामीण सडक जोखिमयुक्त सडक पनि हो । दुई जिल्ला जोडने सडक वर्षाको समयमा सवारी ठप्प राख्नुपर्ने बाध्यता छ ।’

हरिनाश गाउँपालिकाका बासिन्दाहरु वर्षातको समय बजार झर्न परे सडक अवरोध कारण जिल्ला सदरमुकाम नआई तनहुँको दुलेगौडा जाने गर्छन् । छिटो र सजिलोको लागि दुलेगौडा हुँदै पोखरा झर्ने गरेको स्थानीय बताउँछन् । स्थानीय हर्कबहादुर मानन्धरले भने, ‘सदरमुकाम झर्ने भनेको नागरिकता, पासपोर्टजस्ता महत्वपूर्ण कामले हो । बजार किनमेलको हकमा हामीलाई दुलेगौडा नै पायक पर्छ ।’

तीन जिल्ला स्याङ्जा, कास्की र पर्वतको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र पन्चासे पुग्ने ग्रामीण सडक पनि वर्षातको कारण जोखिम छ । पहिरोका कारण अवरुद्ध बनेको यो सडकको पनि अवस्था उस्तै हो । बिनामापदण्ड, बिनास्वीकृति आफूखुसी भद्रगोल अवस्थामा खोलिएका ग्रामीण सडक भत्किने र भासिने हुँदा पहिरोको जोखिम बढेको हो । पुतलीबजार नगरपालिका कोल्मा निवासी दोर्जेप्रसाद गुरुङले भने, ‘आफ्नो घरमा लैजानको लागि आफूखुसी खनिने यस्ता सडक टिकाउ हुँदैनन् । हिउँदमा खनिन्छन् वर्षामा भासिन्छन् ।’ उनले जथाभावी ट्रयाक खोलेकै कारण जिल्लाभर कयौं घरहरु पहिरोको उच्च जोखिममा रहेको बताए ।

नियमित सवारी चल्नुपर्ने सडकको अवस्था पनि उस्तै छ भने कतिपय ग्रामीण सडकहरु खनेर यतिकै छाडिन्छन् । कतिपय सडक क्रमस पुरिँदै गएका छन् । घुम्ती–चिसापानी–दुलेगौडा सडकका जिप चालक अमृत रानाले वर्षा तथा हिउँद बाह्रै महिना सवारी चलाउन जोखिम मोल्नुपर्ने बताए ।

उनले लामो समयदेखि यही सडकमा सवारी चलाउँदै आए पनि स्तरोन्नतीबारे केही पनि नभएको बताए । जिल्लाभरि ५ सय २ किलोमिटर कच्ची सडक छ भने ४२ किलोमिटर ग्राभेल गरिएको सडक छ । तर, पनि ग्राभेल सडक टिकाउ नहुने र ग्राभेल गरेको महिना दिनमै उप्किने समस्याले सास्ती भोग्नुपरेको गुनासो स्थानीयहरुको छ ।-Kantipur