वालिङ भुम्रेमा दुर्घट्नामा मृत्युको विषयलाई लिएर दिनभरी चक्काजाम

0
2819

भाद्र १३, २०७४- वालिङ नगरपालिका– ९ स्थित भुम्रेमा सोमबार विहान साढे ९ बजेको समयमा ग१ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत जिल्ला घर भई हाल वालिङको भुम्रे वस्दै आएकी बर्ष १२ की अमिसा थापाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले मंगलबार दिनभरी चक्काजाम गरेका छन् ।

वालिङ नगरपालिका १४ घर भएका बर्ष १८ का सह–चालक रन्जित केसीको लापरबाहीका कारण १२ बर्षीया बालिकाको मृत्यु भएको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् । केसीसंग सवारी चालक अनुमति–पत्र छैन । हाइसको ब्रेक फेल भएपछि स्थानीयको घरमा ठोकिन पुग्दा पैदलयात्रु थापाको मृत्यु भएको हो ।

टाउकोमा चोट लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रले उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरेपछि बाटोमा नै उनको मृत्यु भएको थियो । वालिङ नगरपालिका–८स्थित सिदार्थ राजमार्गमा पीडित पक्षका अन्दाजी तीन सय जनाको समुहले नाराबाजी गर्दै बाटो अवरोध गरेका थिए । गण्डकी यातायात व्यावसायी समिति र पीडित पक्षकाबीच छलफल भएतापनि सहमति भने जुट्न सकेको छैन ।

ढुङ्गा हानेको आरोपमा वालिङ नगरपालिका–८ बस्ने बर्ष १९ को सौगात रानालाई प्रहरीले पक्राउ गरेको छ । हाइसको ठक्करबाट सोही ठाउँका ५५ बर्षिय बद्री श्रेष्ठ, बर्ष १३ की निर्जना श्रेष्ठ, बर्ष २८ का लोकप्रसाद कुमाल र बर्ष १८ का अर्जुन कुमाल पनि टाउकोमा चोट लागेर गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पोखरा लगिएको छ । हाइस र सहचालकलाई भने प्रहरीले नियन्त्रणमा लिइएको छ । -Kantipur