स्याङ्जा सहयोग समाज युएईद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रममा चर्चित गायक पशुपति शर्मा र गायिका देवी घर्तीसँगै युएईका नेपालीहरुले तिज मनाए ।
समाजका अध्यक्ष खगेन्द्र गैरेको सभापतित्व र नेपाली राजदुतावास युएईका तृतीय सचिव पदमराज बोगटीको प्रमुख अतिथ्यतामा दुबईको होलिडे इन होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एनआरएन, नेपाली समाज लगायत युएइमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरु र युएईमा रहेका नेपाली महिला तथा पुरुषको बाक्लो उपस्थिति थियो ।
गायक पशुपति शर्माले ‘जाम भने जान्छेउ र माया’, ‘झम झम दर्कियो पानी’ जस्ता गीतहरु गाएका थिए भने गायिका देवी घर्तीले ‘हेर्न होइ बाटुली यसरी हो नाच्ने’, ‘कोही छैन’ जस्ता गीतहरु गाएकी थिइन् । पशुपति शर्मा र देवी घर्तीको दोहरीमा दर्शकहरु छमछमी नाचेका थिए । कार्यक्रममा युएईमा क्रियाशील नेपाली कलाकारहरुले गीत, नृत्य र अभिनय गरेका थिए । तिजको अवसरमा आयोजित उक्त कार्यक्रममा युएईमा रहेका नेपाली महिलाहरुको बाक्लो उपस्थिती रहेको थियो । समाजका महासचिव ओमकार पोखरेल र उपाध्यक्ष हरी डुम्रेको सञ्चालन रहेको उक्त कार्यक्रममा समाजलाई योगदान दिने समाजसेवी, व्यवसायी, कलाकारहरुलाई सम्मान गरिएको थियो ।-enayapatrika