श्रावण २५, २०७४- बुधबार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । कांग्रेसका अर्जुनप्रकाश अर्याललाई पराजित गर्दै उनी १५ मत ल्याएर विजयी भएकी हुन् ।
अर्यालले भने ७ मत प्राप्त गरेका थिए । जिल्लाका एघारवटा स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख सहित २२ जनाले मतदान गरेका थिए । जम्मा २२ मत मध्ये १५ मत एमालेका नै थिए ।
त्यस्तैगरी समितिको उपाध्यक्षमा एमालेकै दीलीप बगाले निर्वाचित भएका छन । महिला सदस्यमा टिकाकुमारी डुम्रे, सीता थापा, धनमाया विक रहेका छन् । यस्तैगरी अल्प संख्यकमा तेजेन्द्र सुनार र खुला सदस्य तर्फ विष्णुप्रसाद आचार्य, गुमानसिंह थापा क्षेत्री र विष्णुबहादुर चन्द रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो ।
९ जना कार्यसमिति रहने जिससमा प्रमुख, उपप्रमुख, अल्पसंख्य तथा दलित, महिला र अन्य रहन पाउने व्यवस्था छ । निर्वाचित ९ जना नै एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश रमेशकान्त अधिकारीले शपथ ग्रहण गराएका छन् ।