स्याङ्जाको वालिङमा २० जनाको परिक्षण गर्दा ६ जनामा भेटियो स्वाइन फ्लु

0
16084

स्याङ्जाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको रगत परिक्षण गर्दा ६ जनामा स्वाइन फ्लु भेटिएको छ । गएको शनिबार केन्द्रमा स्वास्थ्य परिक्षणका लागि आएका २० जना शंकास्पद बिरामीको रगतको नमुना लिइएको थियो ।

 

उनीहरुको काठमाडौंमा परिक्षण गर्दा पाँच जनार्मा नफ्लुएन्जा ‘ए’ एचवनएनवन र एक जनामा इनफ्लुएन्जा ‘बी’ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यमप्रसाद शर्माले जानकारी दिनुभयो । यसअघि एक जना वालिङका बिरामीको काठमाडौंमा उपचारका क्रममा स्वाइन फ्लुका कारण निधन भइसकेको छ ।

परिक्षणको रिपोर्ट सार्वजनिक भए लगत्तै थप स्वास्थ्यकर्मीको टोली केही हप्ता वालिङ बस्ने गरी आउने तयारीमा रहेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।

पछिल्ला केही दिनमा वालिङमा अवस्था सामान्य बन्दै गएको थियो । रुघाखोकी तथा ज्वरोका विरामी केही घटेका थिए । तर रिपोर्टमा स्वाईन फ्लु पोजेटिभ आएपछि वालिङमा त्रास बढेको छ । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको आकस्मिक वैठक बसेर आफूहरुलाई सुरक्षित पारिदिन भ्याक्सिन लगायतका सामाग्री तथा औषधी उपलव्ध गराईदिन स्वास्थ्य विभागलाई आग्रह गरेको केन्द्रका सूचना अधिकारी सिनियर अहेव-अधिकृत देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रले रिपोर्टमा स्वाईन फ्लु पोजेटिभ देखिएका बिरामीलाई सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाएको जनाएको छ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । अर्काे तर्फ वालिङमा स्वाईन फ्लु भएका विरामीलाई दिईने ‘ओसेल्टामाभिर’ नामक औषधीको समेत अभाव हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

स्वाईन फ्लु एनवनएचवन विषाणुका कारण हुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डाक्टर प्रविण घिमिरेले बताउनु भयो । उहाँले स्वाईन फ्लु लागेमा ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने, श्वास फेर्न कठिनाई हुने, घाँटी शरीर तथा टाउको दुख्ने, काप्ने, आलस्य हुने, केहीमा झाडापखाला तथा वान्ता हुने अन्त्यमा रोग कडा हुँदै शरीरको प्रतिरक्षा शक्ति कमजोर भई न्युमोनिया भएर बिरामीको मृत्यु हुने जानकारी दिनुभयो ।

के हो स्वाइन फ्लु,कसरी फैलिन्छ र उपचार,पुरा पढ्नुहोस्,
यहाँ==>http://syangjaonline.com/2017/07/29/घातक-हुँदै-स्वाइन-फ्लु/

डाक्टर घिमिरेले यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर मासु पकाएर खाँदा भने यो रोग सुँगुरबाट मानिसमा नसर्नेे जानकारी दिनुभयो । यो रोग मानिसमा लक्षण देखाउनु भन्दा एक दिन अगाडिबाट सात दिनसम्म सार्न सक्ने चिकित्सकको भनाई छ ।-Ujyalo Online

के हो स्वाइन फ्लु?
स्वाइन फ्लु साससँग सम्बन्धित एउटा संक्रामक भाइरल रोग हो। सन् २००९ मा यो रोग विश्वव्यापी महामारी बन्यो। यो टाइप ए भाइरसका कारणले हुन्छ। यो भाइरस शरीरमा प्रदूषित हावालाई सासका माध्यमले भित्र जाँदा वा कुनै प्रदूषित सतहलाई छोएर आँखा, नाक वा मुखलाई छोएपछि शरीरभित्र प्रवेश गर्छ। स्वाइन फ्लुको लक्षण सामान्य भाइरलसँग मिल्दोजुल्दो भए पनि यसको तीव्रता धेरै बढी हुन्छ। घाँटी बिग्रनु, उच्च ज्वरो, अल्छीपना र शक्तिहीनता अनुभव हुनु यसका सामान्य लक्षण हुन्। यसको उपचार लक्षणका आधारमा गरिन्छ। स्वाइन फ्लुका केही केसमा बिरामीलाई वान्ता हुने र पखाला लाग्नेसमेत देखिएको छ। यसको गम्भीर केसमा निमोनिया र शरीरका अंगहरू फेल पनि हुन्छन्।

कसरी फैलिन्छ ? 
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्य रुघाखोकीको विषाणुजस्तै स्वाइन फ्लुको विषाणु फैलिन्छ। जसरी मौसमी रुघाखोकी हाच्छिउँ वा रोगीले छुँदा, आम्नेसाम्ने कुरा गर्ने व्यक्तिमा फैलिन्छ, त्यसैगरी एच१एन१ समेत फैलिने गरेको छ।
यो रोग पकाएको सुँगुरको मासु खानाले वा सुँगुरनजिक रहनाले हुँदैन। यदि फ्लु विषाणु भएको कुनै वस्तुलाई कुनै व्यक्तिले छोएर आफ्नो नाक वा मुखलाई छोयो भने रोग सर्न सक्छ।
जब कुनै रोगी खोक्छ वा हाच्छिउँ गर्छ, त्यति बेला धेरै ससाना पानीको नदेखिने कण (ड्रप्लेट) वातावरणमा फैलिन्छ। रोग प्रभावित व्यक्तिले कुराकानी गर्दासमेत मुखबाट निस्किने ससाना नदेखिने पानीका कणमा विषाणु हुन सक्छन्।

उपचार 
स्वाइन फ्लु संक्रमण भएकाहरूलाई ओसेल्टामिविर अर्थात् टामी फ्लु र जनामिविर अर्थात् रेलेसा नामक विषाणुरोधी औषधि दिने गरिन्छ। यी दुइटै औषधिले विषाणुको प्रोटिन न्युरामिनिडेजलाई दमन गर्छन्। यी औषधि सबैथरीका इन्फलुएन्जा ए भाइरसविरुद्घ प्रभावकारी प्रमाणित भएका छन्। ईन्फलुएन्जाको विषाणुरोधी औषधि यो रोगको रोकथामका लागि ती व्यक्तिहरूलाई दिन सकिन्छ, जो अहिले रोगी नभए पनि एच१एन१ बाट ग्रस्त व्यक्तिको सम्पर्कमा पुगिसकेका छन्। वा, कुनै यस्ता रोगीको सम्पर्कमा छन्।

लक्षण 

  • सामान्य रुघाखोकीमा झैँ नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, खोकी लाग्नु
  • तीव्र ज्वरो देखिनु, औषधि खाँदासमेत ज्वरो नघट्नु,
  • पखाला लाग्नु, वान्ता हुनु
  • घाँटी खसखसाउनु, यस्तो क्रम बढ्दै जानु
  • टाउको फुट्लाजस्तो हुनु, मांसपेसी दुख्नु, अत्यधिक थकाइ लाग्नु

को बढी जोगिने?

  • बूढापाका, पाँच वर्षमुनिका बालबालिका र गर्भवतीहरू
  • मुटु, फोक्सो र मृगौला र दमका रोगीहरू
  • पार्किन्सन्सलगायतका स्नायुसम्बन्धी रोग भएकाहरू
  • मधुमेह भएका, रोगप्रतिरोधक क्षमता कमजोर भएकाहरू

कसरी जोगिने?

  • सार्वजनिक स्थानबाट घर फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ।
  • हात नधोएसम्म मुख, नाक वा आँखा छुनुहुन्न ’cause शरीरमा विषाणु प्रवेश गर्ने बाटा नै यिनै हुन्।
  • खोक्नु वा हाच्छिउँ गर्नुअघि टिस्यु पेपर वा रुमालले मुख छोप्नुपर्छ। त्यसपछि टिस्यु पेपरचाहिँ फयाँक्ने र रुमाललाई तातो पानीमा छोएर सुकाउनुपर्छ। हात पनि राम्ररी धुनुपर्छ।
  • घरको भुइँ विसंक्रमित पार्नुपर्छ।
  • रोगीले काममा जानुहुन्न। सामाजिक मेलमिलाप तथा उत्सवबाट टाढै बस्नुपर्छ, अन्य व्यक्तिलाई तपाईंको रोग नसरोस् भनेर।
  • रोगीसँग घनिष्ठ सम्पर्कमा बस्नुहुन्न।