प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ छन्।
बुधबार विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ) , रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) बनेका छन्।
उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा बुधबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छिन्।
यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा छन्।
त्यसैगरी, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन्। रासस