स्याङ्जाको वालिङ नगरपालिका ४ स्थित धौखोलामा निर्माणधीन मोटरेबल पुल सम्झौता मिति सकिएको दुई बर्ष सकिसक्दा पनि अलपत्र अवस्थामा छ । रामबाच्छा–त्रियासी–रत्ने–एलादी–मनकामना–विरुवा हुँदै तनुहँको दुलेगौडा जोड्ने ग्रामीण सडक अन्तर्गत निर्माण गरिने सो पुलको निर्माण कार्य बीचमै छाडेर ठेकेदार सम्पर्क विहिन भएपछि पुल निर्माण अलपत्र अवस्थामा परेको हो ।
२०७२ वैशाखमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको मोटरेवल पुल ०७३ असारमा सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख भएता ठेकेदारको लापरबाहीेले २० प्रतिशत कार्य पनि सम्पन्न हुन सकेको छैन । साविक जिल्ला विकास समितिको बजेट अन्तर्गत नै निर्माणाधीन सो पुलको रेखदेख पनि जिल्ला प्राविधिक कार्यालयले नै गरेको हो ।
१ करोड १० लाख लागतमा निर्माण हुन लागेको पुलको २२ लाख रुपैयाँ ठेकेदारले निकासा लिइसकेको भएपनि हाल सम्पर्क विहिन भएपछि निर्माण कार्य प्रभावित भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पुलको अनुगमन गर्ने निकाय मौन रहेका कारण चरम लापरबाही भएको स्थानीय मोहन गुरुङ बताउँछन् ।
गुणस्तरहिन र ढिलासुस्त गर्ने ठेकेदारलाई कारबाही गर्न नसक्नु र सम्पर्कबिहिन छ भन्नु सम्बन्धित निकायको निहर््यता भएको स्थानियको गुनासो छ । जय उँm/कमल जेभी कम्पनीले निर्माण कार्य जिम्मा लिएको सो पुलको लम्बाई १८ र चौडाई ५ मिटर रहेको छ । – Kantipur