स्याङ्जामा मात्र सन्चालन हुँदैआएको स्टीमर सेवा जोखिम बढेपछि बन्द

0
2190

श्रावण ४, २०७४- लगातार भइरहेको वर्षाका कारण कालीगण्डकी गाउँपालिका–१ स्थित कालीगण्डकी नदीमा संचालन गरिएको स्टीमर सेवा बन्द गरिएको छ र स्टीमर सेवा बन्द गरिएसंगै स्टीमरमा ओहोरदोहोर गर्ने यात्रुहरु मर्कामा परेका छन् । 

कालीगण्डकीमा पानीको सतह बढ्दै गएपछि स्टीमर सेवामा जोखिम भएको हो । वर्षाको समयमा कालीगण्डकीमा पानीको बहाव उच्च र नदीले जमिन कटान गर्न सुरु गरेपछि स्टीमर राख्ने ठाँउ नहुनुका साथै स्टीमरका काठ कुहिनु, पानी पस्ने, गिटी बालुवा स्टीमर भित्र छिर्ने गरे पश्चात स्टीमर संचालनमा जोखिम बढेको हो ।

शिला शालीग्राम कालीगण्डकी जल यातायात प्रालिले संचालन गर्दै आएको यो स्टीमर सेवा स्याङ्जाको मिर्मिस्थित आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीवेणी शिलासम्म संचालन हुँदै आइरहेको थियो । नदीमा पानीको बहाब घटे पश्चात सामान्यतया असोज, कार्तिक महिनाबाट पुन: संचालन हुने बताइएको छ ।

कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै जादा कालीगण्डकी ‘ए’ जलविद्युत गृहको बाँधका ढोकाहरु खुलेपछि स्टीमर चलाउन जोखीम हुने भएकोले स्टीमर सेवा बन्द गरिएको कम्पनीका अध्यक्ष टिकाराम कुँबरले बताए । स्टीमर सेवा बन्द भएसंगै स्याङ्जा, पर्वत, बाग्लुङ्, र गुल्मीका दर्जनभन्दा बढी साविक गाविसका स्थानीय बासिन्दा मर्कामा परेका छन् ।

कम्पनीका अध्यक्ष कुँवरका अनुसार कालीगण्डकी करिडोरको निर्माणसंगै जीपबाट यात्रुहरु तथा मालसामान ढुवानी गरिने भएता पनि वर्षाका कारण ठाँउ ठाँउमा पहिरो जाने र बाटो अवरोध भइरहने भएपछि र स्टीमर समेत बन्द हुँदा यात्रुहरु मर्कामा परेका हुन् ।

ट्याक्टरमा प्रयोग गरिने इन्जिन प्रयोग गर्दै आएको यस स्टीमरको क्षमता सयको हाराहारीमा रहेता पनि यहाँका बासीन्दा भने बाध्यताका कारण २ देखि ३ सयसम्म चढ्ने गरेका थिए । ‘स्टीमर बन्द हुँदा ओहोरदोहोर गर्न हामीलाई समस्या हुने त भयो नै,’ स्थानीय चन्द्रबहादुर रानाले भने, ‘वर्षाका कारण स्टीमर नै बगाउने र बस्ती पनि जोखिममा रहेको हुँदा ढुक्कसंग रात बिताएको पनि छैन ।’

स्टीमर सेवा संचालन हुँदा स्याङ्जाको पिडिखोला र निवुवाखर्क, पर्वतको शालिग्राम, बर्राचौर, रानीपानी, वहाकी, टकलाक, हुवास तथा बाग्लुङका जैदी, छिस्दी र राङखानीका सर्वसाधारणसहित गुल्मीको अर्बेनी, जयखानी, पुर्तिघाट, फोक्सिङ, हर्मिचौर, लुम्पेकका बासिन्दाले सडक यातायातभन्दा सस्तो र छिटो सेवा लिइँदै आएको कम्पनीले जनाएको छ ।

-Kantipur