दुई नम्बर प्रदेशको निर्वाचन सर्यो
निर्वाचन आयोगसँगको परामर्शमा तेस्रो चरणको निर्वाचन मिति तोकिने
अब असार १४ गते प्रदेश १, ५ र ७ मा निर्वाचन हुनेछ । यसअघि वैशाख ३१ गते प्रदेश ३, ४ र ६ को निर्वाचन भएको थियो । असार १४ गतेको निर्वाचनका लागि भोलि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका छ ।
असार १, २०७४- सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । निर्वाचन सरेकोबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ ।
प्रवक्ता भूसालका अनुसार तेस्रो चरणको निर्वाचन कहिले गर्ने भन्नेबारेमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तोक्ने छ । सरकार र आयोगबीच बिहीबारै दिउँसो तीन बजे छलफलको कार्यक्रम छ ।
त्यस्तै बैठकमा असार १४ गतेको लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको समय केही दिन पर सार्ने निर्णय पनि भएको प्रवक्ता भूसालले जानकारी दिइन् । राजपाको माग अनुसार चुनाव सारिएको हो ।
तस्बिर: कान्तिपुर