सदाचार नीतिको मस्यौदा र अन्तर प्रदेश समन्वयनका लागि समन्वय परिषद्को सचिवालय गठन गर्ने निर्णयमा हस्ताक्षर
जेष्ठ २४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर देउवाले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै देउवाले सदाचार नीतिको मस्यौदा र अन्तर प्रदेश समन्वयनका लागि समन्वय परिषद्को सचिवालय गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको शपथ लिएका थिए ।
त्यसअघि प्रधानमन्त्री देउवा लैनचौरस्थित सहिद स्मारक गई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सहिद स्मारक गई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगी कांग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्बिरमा मार्ल्यापण गरे । उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेसका नेता बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गरेका थिए ।
यसैगरी प्रम देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बसेका थिए । पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
देउवाले पदभार ग्रहणपछि नवगठित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको छ । -Kantipur