वालिङमा मंगलबारबाट राष्ट्रिय एन्फा महिला लिग च्याम्पियनसिप फुटबल सुरु भएको छ ।

0
2016

महिला फुटबल सुरु: झापा, स्याङ्जा र रौतहटको फराकिलो जित

जेष्ठ १७, २०७४- तानसेन र वालिङमा मंगलबार राष्ट्रिय एन्फा महिला लिग च्याम्पियनसिप फुटबल सुरु भएको छ ।

वालिङ मैदानमा मंगलबार बाँके र सुनसरीले गोलरहित बराबरी खेले भने स्याङ्जाले धनकुटालाई १३–१ ले हराएको छ । सावित्रा भण्डारीले ९ गोल गर्दा सीता नेपालीले २, शान्ता नेपाली र अस्मिता नेपालले १–१ गोल गरेका थिए ।

त्यस्तै रौतहटले पाँचथरमाथि १५–० को नतिजा निकाल्यो । रौतहटबाट रजनी थोकर र रजनी घिसिङले ह्याट्रिक, अञ्जली योन्जन, अनिता केसी र मेनुका मगरले २–२, मिथिला कुश्वार र दिलकृुमारी रानाले १–१ गोल गरे ।

तानसेनस्थित टुँडिखेलमा मंगलबार उद्घाटन दिन काठमाडौं, झापा र कन्चनपुर विजयी भएका छन् । दुई खेलाडीको ह्याट्रिकमा झापाले दाङलाई ९–० को फराकिलो अन्तरले हरायो । वर्षाका कारण केही समय ढिलो सुरु भएको खेलमा झापाकी सम्भावना लावतीले चार गोल गरिन् ।

उनले १७ औं मिनेटमै खाता खोलिन् । ४६, ५१ र ६४ औं मिनेटमा गोल थपिन् । मलिका मगरले ह्याट्रिक गरिन् । उनले २५, ३९ र ६१ औं मिनेटमा गोल गरेकी हुन् । आशा श्रेष्ठले २२ औं र आशा फागुले ७० औं मिनेटमा १–१ गोल गरेका थिए ।

अर्को खेलमा काठमाडौंले मकवानपुरमाथि २–० ले जित पायो । दुवै गोल प्रीति राईले गरिन् । प्रतिस्पर्धात्मक खेलमा प्रीतिले सातौं मिनेटमै खाता खोलिन् । उनले ६१ औं मिनेटमा दोस्रो गोल थपिन् । कन्चनपुरले भोजपुरसँगको खेलमा १–० को साँघुरो जित पाएको छ । मध्यान्तरसम्म दुवैबाट गोल हुन नसकेन । दोस्रो हाफको ६२ औं मिनेटमा प्रियंका रानाले गरेको गोल नै निर्णायक बन्यो । खेल ८० मिनेटमा खेलाइएको हो ।

राष्ट्रिय प्रतियोगितामा सहभागी २८ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ । २८ जिल्ला सहभागीमध्ये १४ जिल्लाको पाल्पा र बाँकी १४ जिल्लाको स्याङ्जा वालिङस्थित मैदानमा प्रतियोगिता भइरहेको एन्फाका रेफ्री इन्स्टक्टर श्रीराम रन्जितकारले बताए ।