सबै निर्वाचन केन्द्रमा कर्मचारी र सामग्री

0
2417
ELECTION-IN-VILLAGE-SALYAN-11052017074047-1000x0
सल्यानको खलंगाबाट बुधबार प्रहरी सुरक्षामा बाबियाचौरतर्फ मतपेटिका लिएर जाँदै निर्वाचन कर्मचारी । तस्बिर :कान्तिपुर

वैशाख २८, २०७४- आगामी आइतबार हुने निर्वाचनका लागि कर्मचारी र आवश्यक सामग्री सम्बद्ध मतदानस्थलमा पठाइएको छ । ४ नम्बर प्रदेशका सबै जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझेका छन् ।

१ महानगरसहित ४ गाउँपालिका रहेको कास्कीमा निर्वाचनका लागि खटिएका कर्मचारीले सामग्री जिम्मा लिएका हुन् । २ सय ८८ मतदान केन्द्र रहेको कास्कीमा निर्वाचन गराउन १७ सय २३ कर्मचारी खटिएका छन् ।

स्याङ्जा संवाददाताका अनुसार ५ नगरपालिका र ६ गाउँपालिका रहेको त्यहाँ १७ सय कर्मचारी खटिएका छन् । मतपेटीका, मतपत्र, परिचयपत्र साथै आवश्यक सामग्रीहरू लिइ कर्मचारीहरू खटाइएको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए । गोरखा संवाददाताका अनुसार मतदान केन्द्र पुगेका कर्मचारीले मतदाता परिचयपत्र वितरणसहित चुनावको काम बिहीबार (आज) देखि थाल्ने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । २६० वटै मतदान केन्द्रमा नियुक्तिपत्रसहित कर्मचारी खटाइएको उनले जानकारी दिए ।

लमजुङ संवाददाताका अनुसार कर्मचारी प्रहरीसहित गाउँ पुगेका छन् । यसअघि मतदान केन्द्रमा म्यादी प्रहरी र नेपाली सेनाको टोली पुगिसकेको छ । मुख्य निर्वाचन कार्यालयबाट नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने ६४ प्रकारका सामग्री लिएर कर्मचारी गाउँ गएका हुन् । टाढा जानुपर्ने कर्मचारी बुधबार बिहानै गएका थिए । उनीहरू अबेर मात्रै मतदान केन्द्रमा पुगेका छन् । सदरमुकाम र आसपासका मतदान केन्द्रमा खटिने कर्मचारी भने बिहीबार बिहान मात्रै खटिने भएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार १५५ मतदान केन्द्रका लागि ९ सय कर्मचारी खटिएका छन् ।

बागलुङ संवाददाताका अनुसार जिल्लाका १ सय ३ मतदान केन्द्रका १९२ मतदान स्थलमध्ये बुधबारसम्ममा १९० वटाका मतदान अधिकृतले निर्वाचन सामग्री बुझेका छन् । उनीहरू तोकिएका केन्द्रतर्फ पुगिसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए । चुनाव गराउन ११ सय ५२ कर्मचारी खटिएका छन् ।

कर्मचारी खटिए
रुकुम– स्थानीय तह चुनावका लागि आवश्यक सामग्रीसहित मतदान अधिकृतहरू कार्यस्थलतर्फ खटिएका छन् । ३ नगर र ३ गाउँपालिकाका ७३ मतदान स्थल र १ सय ७ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीहरू खटिएका हुन् । वैशाख ३१ मा हुने ६ नम्बर प्रदेशमा परेका ६ स्थानीय तहमा चुनाव हुँदै छ । मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका तथा बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा पहिलो चरणमा चुनाव हुँदै छ । मुख्य निर्वाचन अधिकृत दण्डपाणी शर्माले सबैलाई आ–आफ्नो मतदान केन्द्रमा पठाइसकिएको बताए । एउटा केन्द्रमा ६ कर्मचारीलाई खटाइएको छ । मतदान केन्द्रमा पुगेका कर्मचारीले परिचयपत्र वितरण गरी काम थाल्नेछन् । उनीहरूले २८, २९ र ३० गते मतदातालाई परिचयपत्र वितरण गर्नेछन् ।

६ स्थानीय तहका १ सय ७ मध्ये ८ केन्द्रमा मात्रै महिला मतदान अधिकृत खटाइएको छ । ९९ केन्द्रमा पुरुष अधिकृत खटिएका छन् । यसैगरी करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रजिअ वंशीकुमार आचार्यले चुनाव लक्षित सुरक्षा योजनाअनुसारै परिचालन गरिएको बताए ।

आचारसंहिता उल्लंघनमा उजुरी 
एमालेले निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगमा उजुरी गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत पठाइएको उजुरीमा विभिन्न ४ क्रियाकलाप रोक्न माग गरिएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले मुसिकोट र चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत माग्न हिँडेको, विद्युत् प्राधिकरणअन्तर्गतका बिजुलीका पोल तथा तारहरू वितरण गरी मतदातालाई प्रभावित पार्न खोजेकाले उजुरी गरिएको एमाले जिल्ला उपसचिव तथा कार्यालय सचिव माधवप्रसाद गौतमले बताए ।

टोली मतदान स्थलमा 
डोल्पा– कर्मचारीलाई तोकिएका मतदान स्थलमा खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ६६ मतदान केन्द्रमध्ये ५५ स्थानमा कर्मचारी पठाइसकिएको छ । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले तीन गाउँपालिका र दुई नगरपालिकाका सबै मतदान स्थलमा टोली पुगेको बताए ।

उनका अनुसार माथिल्लो डोल्पाका दुई गाउँपालिकामा भने पुगे, नपुगेका जानकारी आइसकेको छैन । भिजेरका ३ र छार्काका ३ मतदान केन्द्रमा जान लेक काट्नुपर्ने भएकाले कठिनाइ रहेको उनको भनाइ छ । ‘त्यसमाथि वर्षाले पनि रोकेको छ, मोबाइल र टेलिफोन सेवा अवरुद्ध भएकाले टोलीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले दुनैमा बुधबार नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मतदाता शिक्षाको प्रभावकारिताबारे जानकारी लिन सरस्वती माध्यमिक विद्यालयमा गरिएको नमुना मतदानमा ४५ जना सहभागी थिए ।

मतदान केन्द्र महिलाको जिम्मा
जुम्ला– मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको छ । टाढाका मतदान केन्द्रका कर्मचारी यसअघि नै हिँडिसकेका छन् । ८७ मतदान केन्द्र रहेको जुम्लामा चारवटा मतदान केन्द्र महिलाको जिम्मामा छन् । कार्यालयका अनुसार चन्दननाथ नगरपालिकाभित्रका तीनवटा र पातारासी गाउँपालिकाको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ ।

चन्दननाथको जनता मावि महतगाउँ क र ख, चन्दननाथ माध्यमिक विद्यालय र पातारासी केन्द्रमा महिला कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए । ‘निर्वाचनका लागि चन्दननाथ नगरपालिकाभित्र खटाइएका जम्मा ९० जना कर्मचारीमध्ये ५० प्रतिशत कर्मचारी महिला छन्,’ उनले भने, ‘महिला मतदान अधिकृतको जिम्मेवारी पाएका सबै केन्द्रमा अन्य कर्मचारी पनि महिला नै छन् ।’ यसैबीच, निर्वाचनका लागि कर्मचारी खटाउँदा एकपक्षीय भएको कर्मचारीले गुनासो गरेका छन् । जिल्लाभरिका ८७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी खटनपटनमा आफूहरूसँग समन्वय नगरिएको उनीहरूको भनाइ छ ।

सुरक्षाकर्मी थपिए
कर्णालीमा सुरक्षा व्यवस्था कडा बनाउन १ हजार ५ सय सुरक्षाकर्मी थप गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले निर्वाचनमा अवरोध गर्न सक्ने भन्दै जुम्लास्थित अञ्चल प्रहरी कार्यालय कर्णालीले सुरक्षाकर्मी थप गरेको हो ।

सबैभन्दा धेरै कालिकोटमा सुरक्षाकर्मी थपिएको अञ्चल प्रहरी प्रमुख एसएसपी सुरेश केसीले बताए । उनका अनुसार कालिकोटमा ५ सय ५०, जुम्लामा २ सय ५०, मुगुमा २ सय, डोल्पामा २ सय र हुम्लामा करिब १ सय ५० सुरक्षाकर्मी थपिएको उनले जानकारी दिए ।

वर्षाले निर्वाचन टोलीको बिचल्ली
कालीकोट– बुधबार अपराह्नदेखि वर्षा हुँदा निर्वाचन टोलीको बिचल्ली भएको छ । बुुधबारदेखि वितरण थालिएको मतदाता परिचयपत्रको काममा पनि अवरोध भएको छ । टाढाका मतदान केन्द्र पुग्नुपर्ने कर्मचारी रुझेरै गन्तव्यतिर लागिरहेका थिए । यसअघि पुगिसकेकालाई पनि बस्ने ठाउँको समस्या छ । सबैभन्दा बढी समस्या सुरक्षाकर्मीलाई भएको प्रजिअ गिरिधारी सुवेदीले बताए । वर्षाले निर्वाचनमा खटिएको टोलीलाई कठिनाइ भएको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेको भनाइ छ । ‘विकट ठाउँका विद्यालयमा बस्ने ठाउँ पनि चुहिने छ,’ उनले भने, ‘निर्वाचन सामग्री सुरक्षित राख्न भनेका छौं ।’

कालीकोटका ३ नगरपालिका र ६ गाउँपालिकाका लागि ९९ वटा मतदानस्थल र १०९ मतदान केन्द्रका लागि एक हजारभन्दा बढी कर्मचारी र १ हजार ५ सय सुरक्षाकर्मी परिचालन भएका छन् । जुविथा, चिल्खाया, कालिका, पादमघाट, रास्कोट, कोटवाडा, माल्कोट, मुम्रा, थिर्पु, राम्नाकोटलगायतका ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरी टोली पुगिसकेका छन् ।

म्यादीलाई प्रहरीको ‘ड्युटी’
पर्सा– स्थानीय निर्वाचनलाई लक्षित गरी नियुक्त म्यादी प्रहरीलाई अहिले जिल्लाका विभिन्न प्रहरी इकाइ मातहत खटाइएको छ । २ नम्बर प्रदेशमा स्थानीय निर्वाचन जेठ ३१ गते हुने भएपछि तालिमप्राप्त म्यादी प्रहरीलाई जिल्ला प्रहरी, वडा प्रहरी, इलाका प्रहरी, प्रहरी चौकी लगायतका प्रहरी युनिटमा परिचालन गरिएको हो । डीएसपी चक्रराज जोशीले निर्वाचन सरेकाले जिल्लामा नियुक्त म्यादीलाई प्रहरीले गर्ने सामान्य ड्युटीमा खटाइएको बताए । ‘यो प्रदेशमा निर्वाचन नसरेको भए म्यादी प्रहरीले अहिले पूर्णरूपमा ड्युटी सम्हालिसक्नुपथ्र्यो,’ जोशीले भने, ‘हाल प्रहरीको ब्याक सपोर्टका रूपमा जिल्लास्थित प्राय: सबै प्रहरी इकाईमा परिचालन गरिएको हो, यसबाट उनीहरूलाई तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न अभ्यास हुन्छ ।’

बन्दुक अझै बाँकी
लाइसेन्सधारी बन्दुकवालालाई बन्दुक बुझाउन दिइएको तेस्रो तथा अन्तिम म्यादमा पनि उनीहरूले अटेरी गरेका छन् । पर्सास्थित जिल्ला सुरक्षा समितिले वैशाख २४ देखि तेस्रो तथा अन्तिम पटक भनी जेठ ४ सम्मका लागि म्याद दिएकामा आइतबारयता जम्मा २ जनाले बन्दुक बुझाएका छन् ।
डीएसपी जोशीका अनुसार यस अवधिमा पनि बन्दुक बुझाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्नेछ । यसअघि २ पटक आह्वान गर्दा जम्मा ३७ वटा बन्दुक मात्र बुझाइएका थिए । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लामा लाइसेन्सप्राप्त बन्दुकको संख्या ६ सय ५७ छ ।-Kantipur