वैशाख २४, २०७४- जिल्लाभर चुनावी माहोल ढाकिरहेको मौका पारेर क्रसर व्यवसायी र ठेकेदारले नदीमा गहिरो उत्खनन तीव्र पारेका छन् । प्रशासन र सुरक्षा निकायको ध्यान चुनावमा केन्द्रित भएकाले इन्द्रावती र सुनकोसी नदीमा एक्जाभेटर प्रयोग गरेर दिन–रात निकाल्ने काम भइरहेको छ ।
दोहनले नदीका दुवै किनारमा २० मिटरसम्म गहिरो भएको छ । नदी नै विरूप बन्नुका साथै बर्खाको भेलले तटीय आसपासमा जोखिम बढेको स्थानीय बताउँछन् । ‘क्रसरले नदी किनारमा राज गरिरहेका छन् । प्रभावितलाई निर्माणजन्य पदार्थ छुनसमेत दिँदैनन्,’ इन्द्रावती नदी छेउका दिलकुमार माझीले क्रसर व्यवसायीको हेपाहा प्रवृत्ति सुनाए, ‘नदीको स्वरूप बिग्रिएकाले आसपासका गाउँ र सबै संरचना जोखिममा परेको छ ।’ क्रसर व्यवसायी नै चुनावमा उम्मेदवार भएपछि नदीमा अवैध उत्खनन झनै बढ्दै गएको छ । उद्योग मालिक चुनावी माहोलमा होमिएपछि हाल क्रसरले थप दोहोनलाई बढाउँदै लगेका छन् ।